आज नयाँ बजेट : योजना आयोगले दिएको १८ खर्बको सिलिङ नाघेर बजेट पेस गर्ने तयारी

 जेठ १५, २०८१ मंगलबार ८:६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो आर्थिक वर्षको बजेट आज आउँदैछ । संवैधानिक व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षका लागि जेठ १५ मा सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सरकारले स्रोत अभावकाबीच आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेट ठूलो आकारकै ल्याउने तयारी गरेको छ ।

बजेट वक्तव्यका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक दिउँसो एक बजेका लागि आह्वान गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले झण्डै साढे १९ खर्बको बजेट पेस गर्ने गरी तयारी भएको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् ।

राष्ट्रिय योजना आयोगले यसअघि सरकारलाई १८ खर्बको सीमामा रहेर आउँदो आर्थिक वर्षको बजेट ल्याउन सुझाएको थियो । तर सरकारले चालु आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट ल्याएको थियो ।

सुरुमा ठूलो आकारको बजेट ल्याए पनि स्रोत जुटाउन र खर्च गर्न नसकेपछि सरकारले समीक्षामार्फत् बजेट घटाउँदै आएको छ । करका दरभन्दा पनि दायरा बढाउने भनिए पनि त्यसमा विशेष कार्यक्रमको सम्भावना नयाँ बजेटमा न्यून देखिन्छ । यद्यपि विद्युतीय गाडी र बढी मूल्यका अरू गाडीमा भने केही कर बढाउने तयारी छ ।

राजस्वका थप क्षेत्र पहिचान गरी दायरा विस्तार गर्ने सरकारको तयारी छ । सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको ‘कृषिमा लगानी दशक’ कार्यक्रम कार्यान्वयन गर्न बजेट केन्द्रित हुने अपेक्षा छ । त्यस्तै सूचना प्रविधिको विकास, नयाँ रोजगारी सिर्जना, मिटर व्याज, लघुवित्त र सहकारीका समस्या समाधान सम्बोधन तथा जलवायु अनुकूलन क्षमता बढाउनेलगायतका कार्यक्रमलाई ध्यानमा राखेर नयाँ बजेट आउने देखिन्छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया