आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस

 जेठ १६, २०८१ बुधबार ९:२१:२ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – आज मे २९ तारिख, ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिनको सम्झनामा सन् २००८ देखि मे २९ तारिखलाई अन्तर्राष्ट्रिय रुपमै दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो । हिलारीको सन् २००८ जनवरी ११ र नोर्गे शेर्पाको सन् १९८६ मे ९ तारिखमा निधन भयो । हिलारीको निधनको सन्दर्भ पारेर नेपालमा सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव’ भन्ने नाराका साथ दिवस मनाउन लागेको हो । दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङलगायतले शुभकामना व्यक्त गर्नुभएको छ । आज दिवस मनाउन गठन भएको मूल समारोह समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्दैछ ।

यसैबीच, सङ्घीय संसद्को संयुक्त बैठकमा हिजो अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आउँदो आर्थिक वर्षको बजेटमा दिवस विशेष रुपमा मनाउने घोषणा समेत गर्नुभएको छ । पछिल्ला दुई दशकमा सगरमाथा आरोहणमा आकर्षण बढेको छ । अहिलेसम्म आठ हजार जना भन्दा धेरैले सगरमाथाको आरोहण गरिसकेका छन् ।

पर्यटन विभागकाअनुसार यो वर्षका लागि सगरमाथा आरोहणको याम सकिएको छ । यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ जनाले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी ६ सयभन्दा धेरैले सगरमाथा आरोहण गरेका विभागले जनाएको छ ।

कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको छ । यस्तै यो एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाउनुभयो भने उहाँकै नाममा झण्डै १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान बन्यो । सगरमाथा आरोहणमा कीर्तिमान बनिरहँदा हिमाललाई सुरक्षित राख्ने विषय उठ्न थालेको छ ।

जलवायु परिवर्तन र यसले हिमालमा परेका प्रभावबारे गम्भीर हुन आवश्यक रहेको विज्ञले बताउँदै आएका छन् । जलवायु परिवर्तनका कारण हिमालमा कम हिउँ पर्ने, हिउँ नजम्ने र द्रुत गतिमा हिउँ पग्लिँदै गएका कारण हिमाल सङ्कटमा पर्दै गएकोमा चिन्ता थपिएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया