धनगढीकाे तापक्रम ४४ डिग्री नाघ्यो, पश्चिम तराईमा आज र भोलि पानी पर्ने सम्भावना कम

 जेठ १७, २०८१ बिहीबार १७:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुदूरपश्चिमको राजधानी कैलालीको धनगढीमा आज तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा आज ४४ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो यस वर्षको उच्च तापक्रम पनि हो ।

धनगढीमा हिजोको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस हुँदा रेकर्ड बनेको थियो । त्यसअघि यस वर्षको उच्च तापक्रम गएको अप्रिल २० तारिख अर्थात् वैशाखको ८ गते भैरहवामा ४३ दशमलव ६ डिग्री मापन भएको थियो ।

धनगढीमा सन् १९९५ जुन १६ तारिखमा अहिलेसम्मकै उच्च ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । अहिले मे महिनाको अन्तिम समय हो । त्यसैले धनगढीमा अझै तापक्रम बढ्ने सम्भावना कायमै छ । गर्मी बढेसँगै धनगढी उपमहानगरभित्रमा विद्यालय आजदेखि एक हप्ताका लागि बन्द भएकाे छ ।

आज दिउँसो कैलालीकै साँडेपानी र नेपालगञ्जमा उच्चतम तापक्रम ४४ डिग्री, कञ्चनपुरको दोधारा र बाँकेको खजुरामा ४३ डिग्री, कपिलवस्तुको तौलिहवामा ४१, भैरहवामा ४० र जनकपुरको ३६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । यस्तै आज काठमाण्डाैकाे उच्चतम तापक्रम ३३ डिग्री सेल्सियस मापन भएकाे छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चलेको छ । तर आज र भोलि ती क्षेत्रमा पानी पर्ने सम्भावना कम छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज दिउँसो बाग्मती, कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा पानी परेको छ । आज राति मधेश र कोशी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया