मेलम्चीको पानी मनसुन सक्रिय नहुँदासम्म बन्द नहुने

 असार १, २०८१ शनिबार ९:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ –  मेलम्ची खानेपानी आयोजनाको पानी तत्काल बन्द नहुने भएको छ । यसअघि आजदेखि मेलम्चीको पानी काठमाण्डौ नआउने गरी बन्द गर्ने तयारी भएकोमा तत्कालका लागि मनसुन सक्रिय नहुँदासम्म बन्द नगरिने भएको हो । मनसुनजन्य विपत्तीबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा शुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आएको छ ।

मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो । उहाँकाअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकाबासीलाई वितरण गरिने भनिए पनि अहिले मेलम्ची आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भैरहेको छ ।

दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा झण्डै दुई अर्ब मूल्य बराबरको क्षति पुगेको थियो । गएको साउन २८ र २९ गतेको बाढीले पनि आयोजनाको संरचनामा क्षति पुगेको थियो । काठमाण्डौमा दैनिक ४३ करोड लिटर खानेपानी माग भएपनि आवश्यकताअनुसार आपूर्ति हुन सकेको छैन ।

उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानी अभाव छ । उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा मेलम्चीको खानेपानीले आपूर्ति व्यवस्थापन मात्रै नगरेर जमिनमुनिको पानीको सतह बढाएको जानकारी दिनुभयो । बोर्डकाअनुसार उपत्यकामा रहेका आठ सय ३७ ओटा ढुङ्गेधारामध्ये एक सय १७ वटा ढुङ्गेधारा लोप भइसकेका छन् ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया