देशका धेरै ठाउँमा पानीको समस्या, सडक तथा भवन निर्माणका कारण ५१ प्रतिशत मूल सुके

 असार ३, २०८१ सोमबार १८:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – देशका धेरै ठाउँमा पानीको समस्या बढेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा नेपाल पानी सदुपयोग फाउन्डेशनले गरेको अध्ययनअनुसार चुरे क्षेत्रमा सबैभन्दा बढी ७९ प्रतिशत, हिमाली क्षेत्रमा ६४ प्रतिशत र पहाडी क्षेत्रमा ४६ प्रतिशत पानीका मुहान सुकेका छन् ।

यस्तै पहाडी क्षेत्रमा पर्ने तीन सय पालिकामा गरिएको अध्ययनले ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने समस्या रहेको देखाएको छ । पहाडी क्षेत्रका ५८ प्रतिशत मूल सरेको पाइएको छ ।

प्रतिवेदनअनुसार सडक तथा भवन निर्माणका कारण ५१ प्रतिशत मूल सुकेका छन् । यस्तै भूकम्प, वन फँडानी, जलवायु परिवर्तन, बाढीपहिरो पनि मूल सुक्नुको कारण रहेको फाउन्डेशनले जनाएको छ ।

परम्परागत पोखरी मासिनु, जलविद्युत् आयोजनाका सुरुङ, इनार र डीप बोरिङ लगायत पनि पानी सुक्नुका मानवीय कारण रहेको उल्लेख छ । त्यस्तै अतिवृष्टि, अनावृष्टि र तिनबाट सिर्जित, बाढी पहिरो, खडेरी र भूकम्पलाई प्राकृतिक कारणका रूपमा लिइएको छ ।

तराई मधेशमा जमिनमुनिको पानी पनि सुकेको छ । तराई मधेशका जिल्लामा चापाकलमा पानी सुकेकोले पानी नपाएको भन्दै २५ दिन पैदल हिँडेर काठमाण्डौका आएका सर्वसाधारण २५ दिनदेखि माइतिघर मण्डलामा धर्ना बसिरहेका छन् ।

पछिल्ला वर्षहरूमा लामो खडेरीका कारण पानीको समस्या झनै बढ्दै गएको छ । यसपालिको हिउँदमा पनि लामो खडेरी परेका कारण यस बेला तराई मधेशसहित धेरै ठाउँमा पानीको समस्या रहेको छ । जलवायु परिवर्तनका कारण पनि पछिल्ला वर्षहरूमा खडेरीको समस्या बढ्दै गएको विज्ञहरू बताउँछन् ।

यसैबीच आज विश्वखडेरी विरुद्धको दिवस मनाइएको छ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यबद्धता कायम गर्न सन् १९९५ देखि हरेक वर्ष संयुक्त राष्ट्र सङ्घले विश्व खडेरीविरुद्धको दिवस मनाउँदै आएको छ । वातावरणीय संरक्षण र दीर्घकालीन भूमि व्यस्थापन गरी दुई वटा मुख्य बुँदामा पैरवी गर्न खडेरीविरुद्धकाे दिवसको शुरुवात गरिएको हो ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया