सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेशनकाे काम सकियाे

 असार ६, २०८१ बिहीबार १५:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङबाट गुल्मीको रेसुङ्गा नगरपालिका–७, उनायचौर तम्घाससम्मको १३२ किलोभोल्ट डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेशन पनि निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सन्धिखर्क–तम्घास १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेशन निर्माण सम्पन्न गरी हिजोदेखि सञ्चालनमा ल्याएको हो । प्रसारण लाइनबाट झन्डै २०० मेगावाट विद्युत् प्रवाह हुनसक्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि मुख्य रूपमा गुल्मी जिल्लाको बिजुली आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुका साथै प्राविधिक चुहावट पनि कम हुने बताउनुभयो ।

यस्तै अघाँखाँची–तम्घास प्रसारणलाइनबाट विद्युत् प्रवाह हुने गरी ४० मेगावाटका सौर्य आयोजनाका लागि टेन्डर गरिएको छ । बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत पाल्पा, अर्घाखाँची र गुल्मीमा बिजुली आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन 'ट्रिप' भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेजकाे समस्या थियो । अब तम्घास सबस्टेशनबाट बिजुली आपूर्ति दिँदा लाइन छोटो हुने हुँदा त्यस क्षेत्रको बिजुली आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेशन निर्माण गरिएको हो । प्रसारण लाइन र पौदी अमराई तथा बुर्तिबाङ सबस्टेशन निर्माणाधीन छन् । रुख कटानको समस्याका कारण प्रसारण लाइन निर्माण प्रभावित भइरहेको आयोजनाका प्रमुख मनोज चौधरीले बताउनुभयो ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाको अनुमानित लागत ३ करोड ९५ लाख अमेरिकी डलर छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया