मध्य भोटेकोशी आयोजनाको बिजुली जोड्ने बाह्रबिसे सबस्टेशनको काम सकियो

 असार ९, २०८१ आइतबार १५:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२० किलोभोल्टको विद्युत् सबस्टेशन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेशनमा रहेका ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित सबस्टेशनका सम्पूर्ण उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बिजुली यही सबस्टेशनमा जोडिने छ । मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन शुरु भएपछि त्यही बिजुली प्रयोग गरी बाह्रबिसे सबस्टेशनलाई चार्ज गरिने प्राधिकरणले जनाएको छ ।

निर्माण सम्पन्न भएको मध्य भोटेकोशीबाट बिजुली उत्पादनका काम शुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएपछि अहिले सुरुङको मर्मत भइरहेको छ । सुरुङ मर्मत आउँदो भदौ दोस्रो हप्ताभित्र सक्ने लक्ष्य राखी काम भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजाे (शनिवार) सबस्टेशन, प्रसारण लाइन र मध्य भोटेकोशीको सुरुङ मर्मत कार्यको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भइसकेकाले मध्य कोटेकोशीबाट उत्पादित बिजुली प्रवाहका लागि समस्या नरहेको उल्लेख गर्नुभयो ।

मध्य भोटेकोशीबाट उत्पादित बिजुली २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेशनमा जोडिनेछ । आयोजनाले प्रसारण लाइनको दुई किलोमिटर तार तानेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ३ र ४ पलाँतीका स्थानीयवासीकाे अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकिरहेको छैन । मध्य भोटेशीको बिजुली प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया