कर्णाली नदीमा पुल नबन्दा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेन

 असार ९, २०८१ आइतबार १८:४९:३३ | रासस
unn.prixa.net

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा पुल नबन्दा सदरमुकाम सिमकोट अहिलेसम्म पनि राष्ट्रिय सडक सञ्जालसँग पूर्णरूपमा जोडिन सकेको छैन ।

कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकामा रहेकाे दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो । पुलको जिम्मा लिएको ठेकेदार कम्पनीले एक वर्षदेखि निर्माण गर्न नसक्दा सिमकोटलाई सडक सञ्चालसँग जोडिएको छैन भने याे मार्ग भएर यात्रा गर्ने गाडी र स्थानीयलाई सास्ती हुँदै आएको छ ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको देशको एकमात्र जिल्ला हुम्ला हो । हिउँदयाममा पानी कम हुँदा कर्णाली नदी पार गरेर ट्र्याक्टर, एक्स्काभेटर, डोजर, बोलेरोलगायत गाडी जोखिम मोलेर वारपार गर्छन् भने वर्षायाममा पानीको बहाव बढ्दा बन्द हुने गरेको छ ।

कर्णाली करिडोरअन्तर्गत सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने खार्पुदोभानमा पुल नबन्दा यस क्षेत्रका नागरिकले सामान खोला तार्ने काम गरी मनग्य आम्दानी गर्दै आएका छन् । खार्पुनाथ–५ मा पर्ने खार्पु र दोभान कर्णाली नदीमा बेलिब्रिज निर्माण नहुँदा करिडोरको बाटो भएर ढुवानी भएका सामान यहाँ रहेको झोलुङ्गे पुल तार्ने काम गरी यस क्षेत्रका नागरिकले मनग्य आम्दानी गर्दै आएका हुन् ।

सुर्खेत, नेपालगञ्जबाट मालवाहक ट्रकले झोलुङ्गे पुल खार्पुदोभान पारिपट्टिसम्म विभिन्न विकास निर्माण, दैनिक उपभोग्य सामग्री ल्याउने गरिन्छ । गाडी गुड्ने पक्की बेलिब्रिज नबन्दा छिप्रा, माजा, नल्ला, याङ्चु, खर्पेलगाउँलगायत आसपासका महिलाले पुलबाट ढुवानी गर्ने काम गरिरहेका छन् ।

पारिबाट ल्याइएका सामान ढुवानी गरेबापत एक जना महिलाले दैनिक एक हजार पाँच सय रुपैयाँसम्म कमाउने गरेको खार्पुनाथ–४ छिप्रागाउँका बासिन्दा बताउँछन् । उनीहरू बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म भारी बोक्ने काम गर्दछन् ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया