मधेशका चार जिल्लामा शैक्षिक सुधारका लागि सहयात्रा परियोजना

 असार १०, २०८१ सोमबार १२:२७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तराई मधेशका धेरै बालबालिका अहिले पनि विद्यालयको पहुँचबाहिर रहेका पाइएको छ । मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोले मधेशमा शिक्षक विद्यार्थी अनुपात धेरै भएको र गरिबीका कारण बालबालिकालाई विद्यालयमा जोड्न चुनौती रहेको पाइएको बताउनुभएको हो ।

भीएसओ नेपालले काठमाण्डौमा गरेको कार्यक्रममा सचिव महतोले विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन समुदाय शशक्तीकरणका कार्यक्रम सञ्चानल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा जोड्न र उनीहरूको 'ड्रप आउट' रोक्न अझै चुनौती रहेको बताउनुभयो । विद्यालय शिक्षालाई प्रभावकारी बनाउन नीतिगत र बजेट व्यवस्था गरिए पनि कैयौँ सीमान्तकृत समुदायका बालबालिका अहिले पनि समतामूलक शिक्षाको पहुँचबाट बाहिर रहेका उहाँको भनाइ छ । उहाँले यो अवस्थामा सुधार ल्याउनका लागि अभिभावकको क्षमता विकास, सचेतना तथा विद्यालयको वातावरण र सिकाइ तरिकामा थप सुधारको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीले नागरिक समाजको संलग्नतामा लैङ्गिक उत्तरदायी तथा उत्थानशील शिक्षा सुशासनको अभिवृद्धिमार्फत समावेशी गुणस्तरीय शिक्षा प्रणाली विकास गर्न सकिनेमा जोड दिएका छन् ।

यसैबीच अति सीमान्तकृत बालिका र अपाङ्गता भएका बालबालिकाको गुणस्तरीय तथा समावेशी शिक्षामा पहुँच अभिविृद्धि गर्ने उद्देश्यले बारा, रौतहट, पर्सा र सर्लाहीमा शैक्षिक सुधारका लागि सहयात्रा परियोजना कार्यक्रम तीन वर्षदेखि सञ्चालन भइरहेको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा भीएसओ नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल लगायतका संस्थाले गरिरहेको कार्यक्रममा १० हजारभन्दा बढी सीमान्तकृत बालबालिका, अभिभावक तथा विद्यालय जोडिएका छन् ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया