विद्युत् प्रसारण लाइनमा ठूलो उपलब्धि, नेपालभित्रै पहिलो पटक ४ सय केभीको लाइनबाट बिजुली प्रवाह शुरु

 असार १२, २०८१ बुधबार १५:१७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालभित्रै विद्युत् प्रसारण तथा आपूर्तिका लागि आज पहिलो पटक ४ सय केभी डबल सर्किट प्रसारण लाइनबाट बिजुली प्रवाह भएको छ । ढल्केबर–इनरुवा विद्युत् प्रसारण लाइनमा आजदेखि बिजुली प्रवाह शुरु भएको हो ।

अहिले ढल्केबर–मुजफ्फरपुर ४ सय केभीको अन्तरदेशीय प्रसारण लाइन छ जुन भारतबाट बिजुली आयात/निर्यातका लागि मात्रै प्रयोग हुँदै आएको छ । आजेदेखि भने देशभित्रै विद्युत् प्रसारणका लागि धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ इनरुवासम्म विद्युत् प्रसारण लाइन सञ्चालनमा आएको हो । यो प्रसारण लाइनमा यही असारको २ गतेदेखि बिजुली प्रवाह गरेर परीक्षण भइरहेको थियो ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि यो प्रसारण लाइन निकै महत्त्वपूर्ण रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रसारण लाइनले ४ हजार मेगावाट बिजुली प्रवाह गर्न सक्छ । माथिल्लो तामाकोशीलगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्न र पूर्वी भेगको बिजुली पश्चिमतर्फ ल्याउन हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन महत्त्वपूर्ण रहेको आयोजनाका प्रमुख श्यामकुमार यादवले बताउनुभएको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले १ सय ३२ केभी प्रसारण लाइनको क्षमताले विद्युत् भार नधान्दा हिउँदयाममा ढल्केबरबाट इनरुवातर्फ बिजुली पठाउन समस्या थियो, भार धान्न नसकेर लाइन नै चुँडिने अवस्था थियो । तर अब ४ सय केभी प्रसारण लाइनबाट पर्याप्त बिजुली पठाउन सकिने हुँदा भोल्टेज सुधार भई मुख्य रूपमा मोरङ–सुनसरी औद्योगिक करिडोरको बिजुली आपूर्ति सुधार हुनेछ । यस्तै मोरङ–सुनसरी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप बिजुली आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको बिजुली निर्यात गर्न यो प्रसारण लाइन महत्त्वपूर्ण छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङको हेटौँडा सबस्टेशनबाट इनरुवा सबस्टेशनसम्म २ सय ८८ किलोमिटर लामो प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण शुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर १ सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा १ सय ५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । यसमध्ये ढल्केबर–इनरुवा खण्ड २०६९ सालमा शुरु भएर अहिले ११ वर्षमा निर्माण सम्पन्न भएको हो ।

वन क्षेत्रको विवाद, मुआब्जालगायतका कारणले ढिलाइ भएकोमा दुई वर्षअघि कोशी नदीमा आएको बाढीले एउटा टावर नै बगाइदिएपछि प्रसारण लाइनमा झनै ढिलाइ भएको थियो । हेटौँडा–ढल्केबर खण्ड भने अहिले पनि निर्माणाधीन छ । १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया