गण्डकीमा ३१ करोड खर्चेर मर्मत गरिएका ४ वटा विमानस्थल प्रयोगविहीन

 असार १४, २०८१ शुक्रबार १५:७:५९ | रासस
unn.prixa.net

बाग्लुङकाे बलेवा विमानस्थल, फाइल फाेटाे

कास्की – ३१ करोड रुपैयाँ खर्चेर मर्मत गरिएका गण्डकी प्रदेशका चार वटा विमानस्थल प्रयोगविहीन बनेका छन् । यसअघि करोडौँ खर्चेर बनाइएका र पुनः सञ्चालनका लागि ३१ करोड रुपैयाँ खर्च गरिएका चार वटा विमानस्थल प्रयोगविहीन बनेका हुन् । ती विमानस्थल चल्ने/नचल्ने टुङ्गो छैन ।

मनाङको हुम्डे, गोरखाको पालुङटार, बाग्लुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका विमानस्थल पुनः सञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका हुन् । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा १० करोड, पालुङटारमा सात करोड, बलेवामा १२ करोड र ढोरपाटन विमास्थलमा दुई करोड रुपैयाँ खर्च भएको छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

प्राधिकरणले २०६९ सालमा नौ करोड खर्चेर हुम्डेमा धावनमार्ग कालोपत्र गरेको थियो । धावनमार्ग कालोपत्र भएपछि २०७६ भदौमा समिट एअरको विमानले परीक्षण उडान भरेको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासी अहिले भने निराश छन् ।

लाखौँ रकम खर्चेका हुम्डे विमानस्थल परीक्षण उडानमै सीमित रहेकामा सदरमुकाम चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले गुनासो गर्नुभयाे । ‘२०३९ सालदेखि २०६८ सम्म विमानस्थल नियमित चल्यो, अहिले बन्द अवस्थामा छ । लगानी गरिसकेपछि त्यसको उपयोग त गर्नुपर्छ नि’, उहाँले भन्नुभयाे ।

मनाङ पुग्ने धेरैजसाे पर्यटक पदयात्रामार्फत तिलिचो ताल र थोरङ भञ्ज्याङ हुँदै मुस्ताङतर्फ जाने गरेका छन् । मनाङमा सडक आउनुअघि स्थानीयवासीले जहाजबाटै आवतजावत गर्ने गरेका लामाले बताउनुभयाे । २०६९ सालमा मनाङ सदरमुकाम चामेमा सडक पुगेको थियो । सडक यातायातको सुविधापछि विमान चढ्ने यात्रु घटेको अनुमान गरिएको छ ।

बाग्लुङ नगरपालिका–१४ काे बलेवा विमानस्थल पनि नियमित उडानका लागि तयारी अवस्थामा छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि आठ करोड २४ लाख रुपैयाँ खर्चेर धावनमार्ग कालोपत्र गरेको थियो । २०२२ सालमा बनेको यो विमानस्थल पोखरा–बाग्लुङ सडक बनेपछि २०४८ सालमा बन्द भएको थियो ।

२६ वर्षपछि २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन । केही महिनापछि विमानस्थलमा उडान बन्द बन्द गरियो ।

त्यो बेला नेपाल एअरलाइन्स र तारा एअरलाइन्सको ट्विनअटर विमानले हप्ताको दुई दिन उडान भर्थे । १९ सिट क्षमताका जहाजमा १२ जनाभन्दा कम यात्रु भए बाग्लुङ नगरपालिकाले भार बेहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो । पछि यात्रु पनि घटेर नगरपालिकालाई आर्थिक बोझ थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो ।

विमान कम्पनीले शुरुमै बाग्लुङ–काठमाण्डाैकाे भाडादर ६ हजार ५ सय रुपैयाँ तोकेपछि यात्रुले महँगो भएको गुनासो गरेका थिए । विमानस्थल पुग्ने सडक स्तरहीन हुनु र धावनमार्ग कालोपत्र नहुँदा पनि विमान सेवा नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । अहिले धावनमार्ग कालोपत्र गरिएको भए पनि विमानस्थल बन्द छ भने अब कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुङ्गो छैन ।

त्यस्तै गोरखाको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने योजना अलपत्र परेको बताउनुभयाे । ‘पालुङटार विमानस्थललाई हवाई तालिम केन्द्र या अन्य कुनै प्रयोजनमा लगाउनु उपयुक्त देखिन्छ, तत्कालै विमानस्थल सञ्चालनमा आउने सम्भावना देखिन्न’, उहाँले भन्नुभयाे, ‘काठमाण्डाै र पोखरा जोड्ने राजमार्गको स्तरोन्नति हुँदा यस क्षेत्रमा यातायात सेवा नै बढी प्रभावकारी हुने देखिन्छ ।’

२०१८ सालमा सञ्चालनमा आएको पालुङटार विमानस्थल २०३५ सालमा बन्द भएकाे मेयर चिन्तनले बताउनुभयाे । काठमाण्डाै–पोखरा जोड्ने पृथ्वी राजमार्ग बनेपछि यो विमानस्थल बन्द हुन पुगेको उहाँको भनाइ छ । विमानस्थल सञ्चालनका लागि धावनमार्ग, घेराबारलगायत पूर्वाधारका काममा सरकारले करोडौँ लगानी गरे पनि सञ्चालनमा आउन सकेको छैन ।

देशको एकमात्र शिकार आरक्ष रहेको बाग्लुङको ढोरपाटन उपत्यकाको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ । विमानस्थलको धावनमार्ग गौचरणमा परिणत भएको छ । बर्सेनि वन्यजन्तु शिकारका लागि विदेशी हेलिकोप्टरमार्फत ढोरपाटन पुग्ने गरेका छन् । सडक यातायात पुगेपछि पर्यटकको आवागमन सहज बनेको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया