कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, शुरुमा ओली प्रधानमन्त्री बन्ने

 असार १८, २०८१ मंगलबार ६:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित 'राष्ट्रिय सहमतिको' सरकार बनाउने सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली र डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नुहुने नेताहरुले बताएको छ । नेताका अनुसार निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने सहमति पनि भएको छ ।

आयोगले दिने सुझावका आधारमा संविधान संशोधन गर्ने र राजनीति स्थायित्व हुने गरी निर्वाचन प्रणाली सुधार गर्ने नेताहरुको भनाइ छ । सहमतिअघि देउवा र ओलीले राति नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएकाे छ । कांग्रेस र एमालेबीच सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको हुने निश्चित भएको छ ।

नयाँ सत्ता समीकरणका लागि देउवा र ओलीबीच केही दिनदेखि शृंखलाबद्ध छलफल भइरहेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेले उहाँलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको दाबी छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया