आज गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी मनाइँदै

 असार १८, २०८१ मंगलबार ७:८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपालमा माओवादी द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले कार्यक्रम गरी उहाँको एक सयऔँ जन्मजयन्ती मनाउँदै छन् । यस अवसरमा कांग्रेसकाे केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज पार्टी केन्द्रीय कार्यालयमा 'क्रान्तिदेखि शान्तिसम्म' विषयक तस्बिर प्रदर्शनी गर्दैछ ।

प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाको जीवनीका तस्बिर राखिने र विमर्श कार्यक्रमसमेत गरिने पार्टीले जनाएको छ । १९८१ साल असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट उहाँको जन्म भएको थियो । २००४ सालमा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति हुनुभएको थियो । उहाँ कांग्रेसको पाँचौँ सभापति बन्नुभएको थियो ।

कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति रहनुभयो । २०४८, २०५५ र २०५६ मा गरी उहाँ २०६२/२०६३ को आन्दोलनअघि तीन पटक प्रधानमन्त्री बन्नुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्वसमेत गर्नुभएको थियो । यो आन्दोलन सफल भएपछि उहाँ चौँथोपटक प्रधानमन्त्री बन्नुभयो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । चारपटक प्रधानमन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्रध्यक्षको कार्यभारसमेत सम्हाल्नुभएको थियो । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।   

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया