प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने भएपछि सत्ता हस्तान्तरण लम्बिने संकेत

 असार १९, २०८१ बुधबार ८:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल राजीनामा नदिने भएपछि सत्ता हस्तान्तरण लम्बिने सङ्केत देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच अस्ति सोमबार मध्यराति संविधान संशोधनको एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो ।

कांग्रेस र एमालेबीचको नयाँ समीकरणपछि दबाबमा परेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, बरु संसदमा विश्वासको मत लिने रणनीति बनाउनुभएको छ । सरकारमा सहभागी दल बाहिरिएको ३० दिनसम्म विश्वासको मत प्राप्त गर्ने सुविधा संविधानले दिएकाले प्रधानमन्त्रीले यसैलाई सदुपयोग गर्न लाग्नुभएको हो ।

अर्को सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि तत्काल सरकार नछाड्ने बताएको छ । सम्भावित अन्य राजनीतिक समीकरण जुटाउने प्रयासस्वरूप माओवादी र रास्वपा सरकारको आयु लम्ब्याउने रणनीतिमा छन् ।

अहिले प्रतिनिधिसभामा माओवादी केन्द्रसँग ३२ र रास्वपासँग २१ सिट छ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय सहमतिको सरकारका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तर प्रचण्डले दुवै नेतालाई राजीनामा नदिने बरु संसदमा विश्वासको मत लिने जवाफ दिनुभएको छ ।

नेकपा एमालेको सचिवालय बैठकले पनि प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । प्रधानमन्त्रीले राजीनामा गरेर मार्गप्रशस्त नगरे एमालेले आफ्ना मन्त्रीलाई फिर्ता गरेर समर्थन पनि फिर्ता लिने तयारी गरेको छ । तर सरकारमा सहभागी दल बाहिरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले कांग्रेस र एमालेलाई दबाब दिने रणनीति बनाउनुभएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया