सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने क्यानको निर्णय

 असार २१, २०८१ शुक्रबार १८:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको छ ।

हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई यही जुलाई १ देखि आउँदो डिसेम्बर ३१ सम्म ग्रेड ‘ए’ मा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको क्यानले जनाएको छ । सन्दीपले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट लिन सफल भएकोमा क्यानले यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले क्यान उपाध्यक्षसहित ४ जना पदाधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । टी–२० विश्वकपमा सहभागिताका क्रममा क्रिकेट सङ्घ र पदाधिकारी लक्षित नकारात्मक टिप्पणी गरेको भन्दै क्यानले उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार आचार्य र दुर्गाराज पाठक तथा सुनसरी क्रिकेट सङ्घ अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यस्तै बैठकले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी सदस्य अप्सरी बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै तत्कालका लागि निलम्बन गर्ने र थप छानबिन गरी निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको छ ।

यस्तै बैठकले ‘म्याच फिक्सिङ’ मा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रक्रिया सम्बन्धमा अनुशासन समितिलाई एक हप्ताभित्र निर्णय गर्न पनि जिम्मेवारी दिएको छ ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया