पूर्वी नवलपरासीको मध्यविन्दुमा व्यावसायिक स्याउ खेती शुरु

 असार २४, २०८१ सोमबार १५:२६:२७ | रासस
unn.prixa.net

रासस

नवलपरासी – मध्यविन्दु नगरपालिका वडा नम्बर ३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती शुरु भएको छ । एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले तराईमा स्याउ खेती शुरु गरेको हो । ४० डिग्री सेल्सियससम्म तापक्रम हुने पाँच बिघा क्षेत्रफलमा स्याउ रोपिएको छ । रोपिएको स्याउ दुई वर्षमै फल्न थालेको छ ।

प्रा.लि.का व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट 'अन्ना', 'डोरसेट' र 'एचआरएम–९९' प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिनुभयो । यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्ने उहाँले बताउनुभयो । एएफसीआरसीले झन्डै तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ ।

एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन् । गर्मी धेरै भएकाले केही स्याउका दाना फुटेको उहाँले बताउनुभयो । स्याउको फल पहेँलो रङ र स्वाद फुजी स्याउको जस्तै हुने व्यवस्थापक भट्टराईले बताउनुभयो ।

एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाएको छ । फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ ।

एएफसीआरसीले फलफूल खेतीसँगै 'टिस्यू कल्चर' प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा कीटाणुरहित वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ ।

छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरू हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ । टिस्यू कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो । उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको प्रा.लि.का व्यवस्थापक ईश्वर भट्टराईले बताउनुभयो ।

केराको बिरुवा प्रतिगोटा ३५ देखि ६० रुपैयाँसम्म र बाँसको बिरुवा प्रतिगोटा एक सय ३० रुपैयाँमा बिक्री गरिन्छ । टिस्यू कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवम् तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया