आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक : रेमिट्यान्स बढ्यो, विदेशी विनिमय सञ्चिती अहिलेसम्मकै उच्च

 असार २७, २०८१ बिहीबार ७:३५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्त स्थिति प्रतिवेदनअनुसार मुल्यवृद्धि सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन् ।

त्यस्तै अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ । विदेशी मुद्रा सञ्चिती र रेमिट्यान्स पनि बढेको छ । ११ महिनामा रेमिट्यान्स १९ दशमलव ३ प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यस्तै, आयात एक दशमलव आठ, निर्यात तीन र कूल वस्तु व्यापार घाटा एक दशमलव सात प्रतिशतले घटेको छ ।

राष्ट्र बैंककाअनुसार मूल्यवृद्धि गएको जेठमा चार दशमलव १७ प्रतिशत मात्रै रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि पाँच दशमलव ७६ र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि दुई दशमलव ९४ प्रतिशत रहेको छ । साउनदेखि जेठसम्म चालु खाता दुई खर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ ।

यस्तै, विदेशी मुद्राको सञ्चिती अहिलेसम्मकै धेरै रहेको छ । गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिती जेठसम्म आइपुग्दा २७ दशमलव ८ प्रतिशतले बढेर १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यो सञ्चितिले १५ महिनाको वस्तु आयात र साढे १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया