प्रधानमन्त्री प्रचण्डद्वारा विश्वासकाे मत माग

 असार २८, २०८१ शुक्रबार १३:३४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो ।

प्रधानमन्त्रीको प्रस्तावमाथि अहिले दलीय आधारमा सांसदहरूले धारणा राख्ने क्रम चलिरहेको छ । प्रस्तावमा छलफलका लागि सभामुख देवराज घिमिरेले दुई घण्टा समय छुट्याउनुभएको छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो । १८ महिनाअघि प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले यही कार्यकालमा विश्वासकाे मत माग्नुभएको यो पाँचौँपटक हो । यस पटक उहाँले विश्वासकाे मत पाउने सम्भावना छैन । एमाले र कांग्रेसले मिलेर नयाँ सरकार बनाउने सहमति गरिसकेका छन् ।

यसैबीच विश्वासकाे मतसम्बन्धी प्रस्ताव पेश गर्ने क्रममा संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस–एमालेले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप लगाउनुभएको छ । उहाँले साना दलको अस्तित्व समाप्त गर्ने र समानुपातिक समावेशीको व्यवस्था पनि हटाउनेतर्फ लागेको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको भन्दै कसैले बनाइदिएको तर्क गर्नुभयो । उहाँले आफूले विधिको शासन शुरु गरेको जिकिर गर्दै आफूले भ्रष्टाचार गर्नेहरूसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गर्दा त्यसबाट कानुनी दायरामा आउन सक्नेहरूले कांग्रेस–एमाले सहकार्य कसैले गराइदिएको आरोप लगाउनुभयो । कांग्रेस र एमाले मिल्दा प्रतिगमन र निरङ्कुशताको डर लागेको भन्दै उहाँले संविधान मिच्नतर्फ नलाग्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गर्ने भए दलितको जनसङ्ख्याअनुसारको अनिवार्य प्रतिनिधित्व गर्न नेपाली कांग्रेस र नेकपा एमालेसँग आग्रह गर्नुभएको छ । उहाँले संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान प्रस्ताव पनि गर्नुभएको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया