माैद्रिक नीति २०८१/८२ : मुद्रास्फीति ५ प्रतिशतकाे हाराहारीमा राख्ने, 'एआई' मार्गदर्शन बनाउने

 साउन ११, २०८१ शुक्रबार १३:४४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्ताे व्यवस्था गरेकाे हाे ।

यस्तै ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्नेजस्ता लक्ष्य मौद्रिक नीतिले लिएको छ । कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने नीतिमा उल्लेख छ । आयातका लागि ड्राफ्ट र टीटीका माध्यमबाट हुने मुद्रा सटही सुविधाको विद्यमान सीमा ३५ हजार डलरबाट ५० हजार अमेरिकी डलर कायम भएको छ ।

यस्तै आयातका लागि ६० हजार डलर तोकिएको सीमा १ लाख डलर पुर्‍याइएको छ । सुन आयात र बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा अध्ययन गर्ने र चाँदी आयातको वर्तमान अवस्थाबारे पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा छ ।

यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने नीति लिएको छ । यसका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि सम्पत्ति व्यवस्थापन कम्पनी ऐनको मस्यौदा तर्जुमा गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) सम्बन्धी मार्गदर्शन बनाउने योजना पनि अघि सारेको छ । आज सार्वजनिक गरिएको मौद्रिक नीतिमा एआई मार्गदर्शनबारे उल्लेख गरिएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले सहज मूल्य र बाह्य क्षेत्रको स्थितिलाई मध्यनजर गरी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको बताउनुभयो । त्यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था तर्जुमा गरिएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया