मौद्रिक नीति सन्तुलित रहेको निजी क्षेत्रको टिप्पणी, गतिका साथ काम गर्ने प्रधानमन्त्रीको भनाइ

 साउन १२, २०८१ शनिबार ७:५४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको भन्दै निजी क्षेत्रले स्वागत गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपूर्ण र लचक आएको टिप्पणी गरेको छ ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिका केही पक्षहरु सकारात्मक र केही विषयहरु अझै सम्बोधन हुन नसकेको चेम्बरले जनाएको छ । मौद्रिक नीति मार्फत बैंकदर र नीतिगत दर घटाइएको विषयलाई चेम्बरले सकारात्मक भनेको छ ।

निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी यो क्षेत्रको पुनःस्थापनाको लागि मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु पनि सकारात्मक रहेको चेम्बरले निकालेको विज्ञप्तिमा उल्लेख छ । चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने चेम्बरले जनाएको छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा विस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको बताउनुभएको छ । ढकालले १२ दशमलव ५ प्रतिशतको कर्जा विस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताउनुभयो ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको मौद्रिक नीतिमा व्यवस्था गरेका नयाँ नीतिहरुले बैंकहरुमा रहेको रकमलाई बजारमा पठाउन सहजता प्रदान गर्ने बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सार्वजनिक भएको मौद्रिक नीतिले समर्थन र स्वागत पाएको उल्लेख गर्दै अब गतिकासाथ काम गर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूको शपथपछि सम्बोधन गर्दै उहाँले मौद्रिक नीतिमा समर्थन मिल्नु सकारात्मक भएको बताउनुभयो ।

यस्तै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडलेले मौद्रिक नीतिले देशको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताउनुभएको छ । मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति देशको अर्थतन्त्रलाई चलायमान बनाउने उदेश्यले लचिलो ल्याएको बताउनुभयो ।  देशको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ राष्ट्र बैंकले हिजो मौद्रिक नीति सार्वजनिक गरेको हो । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ ।

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया