मौद्रिक नीतिले माग सम्बोधन नगरेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानको आपत्ति

 साउन १२, २०८१ शनिबार १५:३७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मौद्रिक नीतिले माग सम्बोधन नगरेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको  संस्था, नेपाल इप्पानले आपत्ति जनाएको छ । इप्पानले आज विज्ञप्ती निकालेर नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिले ऊर्जा विकासमा संलग्न सम्पूर्ण निजी क्षेत्र र इप्पानको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

इप्पानले विभिन्न माग राखे पनि मौद्रिक नीतिमार्फत निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई कुनै पनि आकर्षित र सहजीकरण गर्ने नीति नआएकोमा गम्भीर आपत्ति रहेको नजाएको छ । संसदमा नीति निर्माता, प्रधानमन्त्रीदेखि मन्त्रीसम्म तथा स्वयम् राष्ट्र बैंकका गर्भनरबाटसमेत पटक–पटक निजी क्षेत्रलाई आकर्षित गर्ने गरी नीति ल्याउने सार्वजनिक घोषणा गरिरहँदा राष्ट्र बैंकले बेवास्ता गरेर निजी क्षेत्र बिरोधी मात्र नभई निजी क्षेत्रलाई हतोत्साहित बनाउने काम गरेको इप्पानको आरोप छ ।

यसअघिकोभन्दा पनि प्रतिगामी हुने गरी विद्युत विद्येयक संसदमा पेश गर्नु, ऊर्जा मन्त्रालयले निजी क्षेत्रले भोगेका समस्यालाई समाधान गर्ने गरी गरेका निणर्य मन्त्रालय मातहतकै विद्युत विकास विभाग र विद्युत प्राधिकरणले कार्यान्वयन नगर्नु, १० वर्षभित्र छिमेकी राष्ट्रमा १० हजार मेगावाट बिजुली दीर्घकालीन रूपमा निर्यात गर्ने दुई देशबीचको सम्झौतालाई कार्यान्वयनका लागि सहायता पुग्ने गरी कुनै नीति तथा कार्यक्रम नआउनुले सरकारप्रतिको विश्वास र भरोसा माथिनै निजी क्षेत्र सशंकित भएको इप्पानको विज्ञप्तीमा उल्लेख छ ।

बजेट र मौद्रिक नीतिमार्फत तथा अन्य विभिन्न निर्णय कार्यान्वयन नगरेर सरकारले निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकलाई हतोत्साहित बनाउने गरी भएका नीतिगत र कार्यान्वयन समस्याप्रति इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जा मन्त्रीका साथै सांसदको गम्भीर ध्यानाकर्षण गराएको छ । तत्काल माग पूरा नगरेमा समग्र ऊर्जा विकासमा ठूलो समस्या आउने र सरकारका कुनै पनि लक्ष्य हासिल हुन नसकी देशको अर्थतन्त्रमा गम्भीर असर पर्नेसमेत इप्पानले चेतावनी दिएको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया