पेरिस ओलम्पिक २०२४ सकियो, अमेरिका शीर्ष स्थानमा

 साउन २८, २०८१ सोमबार ६:५०:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पेरिस ओलम्पिक २०२४ सकिएको छ । गएको जुलाई २६ मा औपचारिक रुपमा शुरु भएको ओलम्पिकमा जुलाई २४ देखि नै फुटबल लगायतका केही खेल शुरु भइसकेका थिए ।

यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन् । तर अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो । कुल १ सय २६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो ।

यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ । प्रतियोगिताको अन्तिम दिन हिजो १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो ।

अन्तिम दिन दुई पदक जितेर जापान तेस्रो भएको छ । उसले २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो । अस्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेर चौथो भएको छ ।

आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ । कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ । पेरिस ओलम्पिक २०२४ मा सहभागी २ सय ६ मध्ये ६२ देशले स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् ।

पेरिस ओलम्पिकमा नेपालबाट सहभागी सात खेलाडीमध्ये पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाउनुबाहेक उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिएका थिए ।

टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका हुन् । महिला म्याराथनमा सन्तोषी श्रेष्ठले ७९ औँ स्थानमा रहँदै दौड पूरा गरेकी छिन् । ३३ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा गएराति भएको छ ।

समापन समारोहका लागि तीन हजार सुरक्षाकर्मी परिचालन गरिएका थिए ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया