एएफसी च्यालेन्ज लिगमा भाेलि चर्च ब्वाइज र पाराे एफसी खेल्दै

 साउन २८, २०८१ सोमबार १८:२९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिग प्लेअफमा भोलि भुटानको पारो एफसीसँग खेल्दैछ । यो खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ ।

तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो एफसी चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ । नेपालको घरेलु लिगमा सफल विलियम ओपोकीलगायत चर्चित खेलाडी पारो एफसीले यही प्रतियोगिताका लागि भित्र्याएको छ । यद्यपि चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका धेरैजसो सदस्य छन् । चर्च ब्वाइजले झन्डै एक महिनादेखि यो प्रतियोगिताका लागि तयारी गरेको छ ।

खेलअघि आज भएको पत्रकार सम्मेलनमा चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने बताएका छन् । खेलाडीले आफ्नो क्षमता र रणनीति अनुरूप खेल्न सके घरेलु समर्थकलाई सुखद नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ ।

भुटानमा लिग खेलिरहेको पारो एफसी अहिले शीर्ष स्थानमा छ । पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित आए पनि खराब मैदानका कारण चुनौती बन्नसक्ने बताए । पछिल्लो सिजन मच्छिन्द्र क्लबसँग नतिजा सुखद नभए पनि यसपटक आफ्नो टोली बलियो रहेको र चर्च ब्वाइजलाई राम्रो चुनौती दिने उनको विश्वास छ ।

एएफसी च्यालेन्ज लिग प्लेअफका विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया