एनसेलको सामाजिक उत्तरदायित्वअन्तर्गतका पहलहरू सातै प्रदेशमा कार्यान्वयनमा

 भदौ ६, २०८१ बिहीबार १३:५८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा सामाजिक विकाससम्बन्धी विभिन्न आयोजनाहरू सञ्चालनमा रहेका छन् । कम्पनीले गएकाे वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा 'एटीन फर एटीन' अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहलका लागि आवेदन खुला गरेको थियो र यसै पहलअन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरू सातै प्रदेशमा कार्यान्वयन भइरहेका छन् ।

देशव्यापी रूपमा समुदायस्तरमा आवश्यक रहेको विकास कार्यका लागि आह्वान गरिएको आवेदन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त गरेको थियो । ती प्रस्तावहरूको मूल्याङ्कन गरी छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्य छनाेट गरी कार्यान्वयनमा ल्याइएका हुन् ।

छानिएका परियोजनाहरूमा बाग्मती प्रदेशका लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्यूजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रवर्द्धनको कार्यक्रम तथा शिक्षासम्बन्धी कार्यक्रमहरू रहेको छ भने गण्डकी प्रदेशमा शिक्षा क्षेत्रअन्तर्गत विभिन्न कारणले गर्दा स्कूल जान छाडेका तथा स्कूलबाट बाहिररहेका बच्चाहरूलाई पुनः स्कूल पठाउनका लागि 'स्कूल फर आउट अफ स्कूल चिल्ड्रेन', हुप्सेकोटमा स्वास्थ्यसम्बन्धी 'न्यूट्रिशन', 'वाश' सम्बन्धी कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रवर्द्धनका लागि 'ग्रीन बक्स' कार्यक्रम रहेका छन् । त्यसैगरी कोशी प्रदेशका लागि ६ हजार जना महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणका लागि आउने पर्यटकहरूको सुरक्षाका लागि जनसचेतना कार्यक्रमहरू रहेका छन् । लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा 'हेल्थ क्याम्प' र विभिन्न सामुदायिक विद्यालयहरूमा 'ग्रीन' स्कूलको अवधारणा विकासका लागि परियोजना सञ्चालन भइरहेको छ ।

मधेश प्रदेशमा युवाहरूको क्षमता विकास तथा जीविकोपार्जनका लागि सीप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन् । सुदूरपश्चिम प्रदेशका ५ वटा मोडल स्कूलमा 'स्टेम एजुकेशन', बैतडीका ५६ वटा स्कूलका शिक्षकहरूको तालिम तथा विकासका आयोजना रहेका छन् भने नवीकरणीय ऊर्जा प्रवर्द्धनसम्बन्धी परियोजनाहरू सञ्चालनमा रहेका छन् । कर्णाली प्रदेशमा 'वाश' सम्बन्धी व्यापक कार्यक्रम तथा फोहरमैला वर्गीकरण तथा फोहरबाट 'कम्पोस्ट' मलको उत्पादनसम्बन्धी कार्यक्रमहरू रहेका छन् ।

आयोजनाको अवधारणा, यसले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना, प्रस्तावित परियोजना कार्यन्वयन क्षेत्र, प्रस्ताव पेश गर्ने संस्थाको अनुभवलगायतका आधारमा सामाजिक कार्यहरू छानिएका थिए । सामाजिक कार्यका लागि एनसेलका प्राथमिकता क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, वातावरणसहित जीविकोपार्जन सहयोग, नवीकरणीय ऊर्जा र कला तथा संस्कृतिसँग सम्बन्धित परियोजनाहरू कार्यान्वयनमा लगिएका छन् ।

‘यो कार्यक्रमअन्तर्गत हामी कर्णालीको चन्दननाथ नगरपालिकामा २२ हजार लाभग्राही रहने स्वास्थ्यसम्बन्धी परियोजना गर्दैछाैँ । सुदूरपश्चिममा धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा स्टेम एजुकेशनको प्रवर्द्धनको काम हुन्छ । त्यसैगरी मधेश प्रदेशमा १८ देखि २५ वर्षका युवा लक्षित स्किल क्याप गर्दैछौँ भने कोशीमा पाठेघरको क्यान्सरसम्बन्धी जनचेतना फैलाउने परियोजना गर्दैछौँ । यी केही उदाहरण हुन्’, एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भन्नुभयाे, ‘सातै प्रदेशमा कार्यान्वयन हुँदै गरेका हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ ।’

दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकता अनुरूप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यस 'एटीन फर एटीन' कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । प्राप्त प्रस्वावित आयोजनाको महत्त्व र प्रभावका आधारमा कुनै प्रदेशहरूमा दुईभन्दा बढी परियोजनाहरू छानिन सफल भएका छन् ।

एनसेलले आफ्नो स्थापनापछि शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी ३२० खर्ब रुपैयाँभन्दा बढी राजस्व तिरिसकेको छ ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया