बस दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव विमानमार्फत भारत पठाइयो

 भदौ ८, २०८१ शनिबार १७:२२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – हिजो तनहुँमा बस दुर्घटनामा हुँदा ज्यान गुमाएका भारतीय नागरिकको शव सरकारले भारत पठाएको छ । आज दिउँसो आएको भारतीय वायुसेनाको विशेष जहाजले शवलाई भारत महाराष्ट्रको नासिक जिल्लामा लगेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

दुर्घटनामा २७ जनाको ज्यान गएकोमा गोरखपुरका दुई जनाको शव एम्बुलेन्समार्फत पठाएको र २५ जनाको शव वायुसेनाको विमानले लगेको यादवले बताउनुभयो । दुर्घटनामा परेका सबै शवको पहिचान चितवनको भरतपुर अस्पतालमा भएको हो । घाइतेको अवस्था बुझ्न र शव लिनको लागि भारतको भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से आज बिहान नेपाल आउनुभएको थियो ।

तस्बिर : रासस

काठमाण्डौ ओर्लिएलगत्तै उहाँ त्रीबी शिक्षण अस्पताल महाराजगञ्ज पुगेर १६ जना घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । गृहमन्त्री रमेश लेखक पनि खड्सेसँगै अस्पताल पुग्नुभएको थियो । घाइतेको अवस्था जानकारी लिएसँगै उहाँले सिंहदरबार पुगेर गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गर्नुभएको छ ।

गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभएको छ । उहाँले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिलाई बचाउन सकेको भन्दै प्रशंसा गरेको जानकारी दिनुभयो ।

राज्यमन्त्री खड्सेले आफू शिक्षण अस्पताल पुगेर बिरामीसँग बुझ्दा उपचार राम्रोगरी भइरहेको पाएको पनि आफूलाई बताएको उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्रीसँगको भेटपछि राज्यमन्त्री खड्से चितवन पुगेर २५ जनाको शवसहित भारतीय वायुसेवाको विमानबाट भारत जानुभएको छ । हिजो भारतीय पर्यटक सवार बस तनहुँको ऐनापहराबाट मर्स्याङदी नदीमा खस्दा २७ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया