धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – लोडशेडिङ अन्त्य भई नियमित रूपमा बिजुली आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष (आव) (२०७२/०७३) मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गएकाे आव २०८०/०८१ मा १० अर्ब २ करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको बिजुली खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो । आठ वर्षअघि बिजुली खपत वृद्धिदर नै ऋणात्मक थियो ।
गएकाे आवमा सबैभन्दा बढी गार्हस्थ्यर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट बिजुली खपत भएको छ । बाँकी बिजुली अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि १ सय ३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गएकाे आवसम्म आइपुग्दा ४ सय युनिट पुगेको छ ।
आठ वर्षअघि वर्षायाममा समेत दैनिक ८ घण्टा लोडशेडिङ थियो । हिउँदमा दैनिक १४ घण्टासम्म लोडशेडिङ गर्नुपर्ने प्रक्षेपण थियो । २०७३ सालको कात्तिकदेखि काठमाण्डाै उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख शहरहरूका गार्हस्थ्यतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडशेडिङ अन्त्य गरिएको थियो । २०७५ सालकाे वैशाखदेखि सिङ्गो देश लोडशेसेडिङमुक्त घोषणा गरिएको थियो ।
८ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र बिजुली पुगेको थियो । अहिले ९९ प्रतिशतमा बिजुली पुगेको छ । बिजुलीको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशतले राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत्, सौर्य ऊर्जालगायतबाट बिजुली उपभोग गरिरहेका छन् । आठ वर्षअघि बिजुलीका ग्राहक झन्डै ३० लाख रहेकामा अहिले सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडेशडिङ अन्त्यपछि पर्याप्त निरन्तर बिजुली आपूर्ति हुन थालेपछि खपत बढेको बताउनुभयो । ‘ठूला तथा साना उद्योगहरूले निरन्तर बिजुली आपूर्ति पाइरहेका छन्, यस अवधिमा उद्योगहरूको धैरे लोड स्वीकृत गरिएको छ, खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणहरूको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय गाडीकाे प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रूपमा गरिएको छ जसका कारण आन्तरिक रूपमा बिजुलीकाे खपत बढिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘हरेक वर्ष बिजुली माग बढेसँगै आपूर्तिमा चुनौती थपिएका छन्, त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित बिजुली आपूर्तिका लागि देशका प्रमुख शहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगिएको छ ।’
उहाँले आन्तरिक रूपमा बिजुलीकाे खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको उल्लेख गर्नुभयो ।
आव २०७२/०७३ मा ३ अर्ब ७२ करोड युनिट रहेको बिजुली खपत आव २०७३/०७४ मा २८ दशमलव ४७ विन्दुले बढेर ४ अर्ब ७७ करोड युनिट पुगेको थियो । आव २०७४/०७५ मा बिजुली खपत ५ अर्ब ५६ करोड, २०७५/०७६ मा ६ अर्ब ३० करोड, २०७६/०७७ मा ६ अर्ब ४२ करोड, २०७७/०७८ मा ७ अर्ब २८ करोड युनिट भएको थियो ।
यसैगरी २०७८/०७९ मा ८ अर्ब ८४ करोड, २०७९/०८० मा ९ अर्ब ३५ करोड र २०८०/८१ मा १० अर्ब २ करोड युनिट बिजुली खपत भएको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा बिजुली खपत झन्डै १० प्रतिशतले बढेको हो ।
गएकाे आवमा 'पिक डिमान्ड' (विद्युत् बढी माग हुने समय) अघिल्लो आव २०७९/८० को तुलनामा ११ दशमलव ३४ प्रतिशत विन्दुले वृद्धि भएको थियो । गएकाे आवको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी बिजुलीकाे माग रेकर्ड गरिएको थियो । त्यस दिन 'पिक डिमान्ड' २ हजार २ सय १२ मेगावाट पुगेको थियो ।
वर्षायामका ६ महिना बिजुली भारततर्फ निर्यात गर्ने अवस्था बने पनि हिउँदमा नदी प्रवाही जलविद्युत् आयोजनाहरूको बिजुली उत्पादन घटी केही महिना देशभित्रको माग धान्न आयात गर्नुपर्ने अवस्था छ । तर प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण भने घट्दै गएको छ । गएकाे आवमा प्रणालीमा आयातित ऊर्जाको हिस्सा १४ दशमलव ६८ प्रतिशत रहेको छ, याे अघिल्लो आवको तुलनामा ८ दशममलव ५७ प्रतिशत विन्दुले कम हो । बिजुली निर्यात ४४ प्रतिशत विन्दुले वृद्धि भएको छ ।
गएकाे आवमा भारतबाट १ अर्ब ९० करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको बिजुली आयात गरिएको थियो । तर यही अवधिमा १ अर्ब ९५ करोड युनिट बिजुली भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको थियो । गएकाे आवमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको बिजुली निर्यात गरी खुद बिजुली आयातकर्ताबाट नेपाल खुद बिजुली निर्यातकर्ता बनेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।