हिजबुल्लाहद्वारा इजरायलमा सयौं मिसाइल प्रहार, इजरायलमा ४८ घण्टे सङ्कटकाल घोषणा

 भदौ ९, २०८१ आइतबार १६:३:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

लेबनानको हिजबुल्लाह समूहले इजरायलमा सयौं मिसाइल प्रहार गरेको छ । आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन हिजबुल्लाहले आज उत्तरी इजरायलमा रकेट र ड्रोन आक्रमण गरेको हो । इजरालयले धेरै ठूलो आक्रमणलाई विफल पारेको बताएको बीबीसीले जनाएको छ ।

हिजबुल्लाह समूहले इजरायलमा आक्रमण गर्नुअघि इजरायली सेनाले पनि दक्षिणी लेबनानमा रहेका ४० भन्दा धेरै हिजबुल्लाह प्रक्षेपण साइटहरूमा प्रहार गरेको जनाएको छ । अमेरिकी र इजरायली जासुसी संस्थाहरूले आज इजरायलमा आक्रमण हुने थाहा पाएपछि इजरायलले हिजबुल्लाहभन्दा अघि नै झन्डै एक सय लडाकु विमानबाट प्रहार गरेको बताएको बीबीसीले जनाएको छ ।

हिजबुल्लाहले इजरायलतर्फ ड्रोन र तीन सय २० वटाभन्दा धेरै रकेट प्रक्षेपण गरेको र ११ सैन्य क्षेत्रमा प्रहार गरेको इजरायली सेनालाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । हिज्बुल्लाहले इजरायलले आफूतर्फ गरेको आक्रमण उल्लेख नगरी आफ्ना वरिष्ठ कमाण्डर फुआद शुक्रको हत्याको बदलाको पहिलो चरण पूरा भएको जनाएको छ ।

इजराइलले हिजबुल्लाहसँगको आजको भिडन्तका कारण ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । गएको महिना इजरायलको कब्जामा रहेको गोलान हाइट्समा हिजबुल्लाहले क्षेप्यास्त्र आक्रमण गरेर १२ जना बालकको ज्यान गएपछि इजरायली सेनाले बेरुतमा शुक्रको हत्या गरेको थियो । त्यसपछि दुई पक्षबीचकाे तनाव बढ्ने अपेक्षा बढेको थियो ।

इजराइलले शुक्रको हत्या भएको केही घण्टापछि हमासका शीर्ष नेता इस्माइल हनियाको पनि इरानको राजधानी तेहरानमा हत्या गरेको थियो । शुक्र र हनियाको हत्यापछि इरान र इजराइलको युद्ध हुन सक्ने भनेर अमेरिकाले पहिले नै इजराइललाई सहयोग गर्न युद्धपोतहरू पठाइसकेको छ । इरानले भने अहिलेसम्म आक्रमण गरेको छैन । इजरायलमाथि हिजबुल्लाह र इरान दुवैले आक्रमण गरेमा मध्यपूर्वमा द्वन्द्व फैलने चिन्ता बढेको छ ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया