मलेसिया : हेरचाहगृहमा यौन दुर्व्यवहारमा परेको शङ्कामा ४ सय २ जना बालबालिका र किशोरकिशोरीको उद्धार

 भदौ २७, २०८१ बिहीबार १५:१६:४९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

मलेसियाको प्रहरीले हेरचाहगृहमा शारिरिक र यौन दुर्व्यवहारमा परेको आशङ्कामा चार सय दुई जना बालबालिका र किशोरकिशोरीको उद्धार गरेको छ । २० वटा हेरचाहगृहमा रहेका उनीहरु लामो समयदेखि शारिरिक र यौन शोषणमा परेको हुन सक्ने प्रहरीको शङ्का छ । १ देखि १७ वर्ष उमेर समूहका पीडितले विभिन्न प्रकारका दुर्व्यवहार भोगेको बताएका छन् ।

प्रहरी महानिरीक्षक रजारुद्दीन हुसेनले एक पत्रकार सम्मेलनमा केही बालबालिकालाई आफ्नै साथीमाथि यौन क्रियाकलाप गर्न बाध्य बनाएको पाइएको बताउनुभएको छ । प्रहरीले धार्मिक शिक्षक र हेरचाहकर्तासहित एक सय ७१ जना संदिग्धलाई पक्राउ गरेको छ । यी हेरचाहगृह एक प्रमुख इस्लामिक समूहसँग जोडिएका छन् । सेलाङ्गोर र नेगेरि सेम्बिलन राज्यका २० वटा कल्याणकारीगृहमा हिजो प्रहरीले छापा मारेको थियो ।

१७ देखि ६४ वर्ष उमेर समूहका केही व्यक्तिले एक प्रकारको उपचार भन्दै बालबालिकाका यौन अङ्गमा छुने काम गरेको पनि पीडितले गुनासो गरेका छन् । अह्राएको काम नमान्ने बालबालिकालाई तातो धातुका वस्तु प्रयोग गरेर दण्डित गरिएको थियो । बिरामी भएकालाई उनीहरूको अवस्था गम्भीर नभएसम्म उपचारको अनुमति नदिएको पाइएको पनि प्रहरीले जनाएको छ ।

महानिरीक्षक रजारुद्दीनले उद्धार गरिएका बच्चालाई अस्थायी रूपमा राजधानी क्वालालाम्पुरको एउटा प्रहरी केन्द्रमा राखेर स्वास्थ्य जाँच गर्ने बताउनुभएको छ । धेरै बालबालिकालाई उनीहरूका आमाबाबुले राम्रो धार्मिक शिक्षा लिन सकून भनेर हेरचाह र कल्याणकारी गृहमा राखेका प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया