खाद्य कम्पनीले आजदेखि खसीबोका र च्याङग्राको बिक्री शुरु गर्‍याे : किलोमा १० रुपैयाँ छुट

 असोज २०, २०८१ आइतबार ९:१२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका र च्याङग्राको बिक्री गर्न शुरू गरेको छ । विगत वर्षहरुमा खाद्यले घटस्थापनादेखि नै बिक्री शुरु गर्ने गरेकोमा यसवर्ष वर्षा,बाढी र पहिरोका कारण केही दिन ढिला गरी बिक्री शुरू भएको हो ।

खाद्य कम्पनीको थापाथली प्रादेशिक कार्यालयका प्रमुख ज्ञानु थापाका अनुसार थापाथलीबाट आज बिहान ८ बजेदेखि खसीबोका र च्याङग्रा बेच्न थालिएको छ । कम्पनीले प्रतिकिलो खसीबोकाको ६ सय ७० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा किलोमा १० रुपैयाँ छुट दिएको छ । खाद्यमा खसीबोका किलोको ६ सय ६० रुपैयाँ पर्छ ।

यस्तै च्याङ्ग्रा किलोको एक हजार २ सय ३० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ छुुट दिएर एक हजार २ सय २० रुपैयाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार च्याङग्रा गएको वर्षभन्दा किलोमा ३० रुपैयाँले सस्तो भएको छ ।

पहिलो चरणमा हिजोसम्म दुई सय ८ वटा खसीबोका र तीन सयको सङ्ख्यामा च्याङ्ग्रा भित्रिएको छ । मुख्य चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न हरेक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ ।

यसपटक दशैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने र बेच्ने यसअघि जनाएको थियो । खाद्यसँगै अरु निजी व्यापारी र व्यवसायीले पनि खसीबोका खरिद गरी काठमाण्डौमा ल्याएर बिक्री गर्न थालिसकेका छन् । 

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया