ट्राफिक नियम उल्लङ्घन गरेमा चालकलाई डिजिटल चिट दिने व्यवस्थाको शुरुवात

 कात्तिक ४, २०८१ आइतबार १८:५९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेमा चालकलाई डिजिटल चिट दिने व्यवस्थाको शुरुवात भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज भएको कार्यक्रममा नयाँ प्रणालीको सुभारम्भ गरिएको हो ।

नियम उलङ्घन गरेका चालकले जरिवाना रकम डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन सक्ने ट्राफिक प्रहरीले जनाएको छ । पहिलो चरणमा काठमाण्डौ, भक्तपुर र ललितपुरमा यस्तो व्यवस्था कार्यान्वयन गरिएको हो । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।

डिजिटल चिट दिने व्यवस्थाको शुरुवात गर्दै गृहमन्त्री लेखकले राज्यको तर्फबाट सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी, झन्झटिलो र जटिलता रहित सेवा प्रवाह गर्नु सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै आज शुभारम्भ भएको प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रूपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै ट्राफिक प्रहरीले यस प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनको लागि उहाँले शुभकामना समेत दिनुभयो । सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउँदै लैजाने र सुशासन स्थापना गर्ने विषयमा सरकार अगाडी बढेको उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई–चलानको शुभारम्भ स्वागत योग्य रहेको बताउनुभयाे ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन सम्बन्धमा नविनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदर्शी र गुनासोरहित ढङ्गको सेवा प्रवाहलाई प्रवर्धन गर्ने हेतुले प्रविधिको शुभारम्भ भएको बताउनुभयो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी निरीक्षक दिपेन्द्र प्रसाद साहले नागरिक एप, ई–चलान कार्यान्वयनको अवस्था, कारवाहीको प्रकृया, अन्य नागरिकमैत्री एप्लिकेसन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक सञ्जालमार्फत गाडी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको थियो । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया