कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजीमा अनुत्तीर्ण

 कात्तिक ५, २०८१ सोमबार ९:२४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । हिजो सार्वजनिक भएको नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार नौ सय ४२ जना अनुत्तीर्ण भएका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस्तै लेखा विषयमा २४ हजार जनाले परीक्षा दिएकामा आठ हजार तीन सय १५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मौका परीक्षामा सहभागी भएर पनि ३७ हजार १७ जनाले नतिजा सुधार गर्न नसकेका बोर्डले जनाएको छ ।

एक लाख २२ हजार एक सय ७१ जनाले परीक्षा दिएकामा ८६ हजार दुई सय ४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशत उत्तीर्ण भएका छन् । यसमध्ये अनिवार्य गणितमा ४५, फिजिक्समा दुई, लेखामा १०, ऐच्छिक गणितमा एक, कम्प्युटर साइन्समा दुई र केमेस्ट्रीमा एक जना गरी जम्मा ६१ जनाले मात्रै 'ए प्लस' ल्याएका छन् । बोर्डका अनुसार 'ए प्लस' ल्याउने ६१, 'ए' ल्याउने सात सय ५१, 'बी प्लस' ल्याउने दुई हजार नौ सय ८६, 'बी' ल्याउने ११ हजार ४९, 'सी प्लस' ल्याउने २३ हजार ६ सय ८८, 'सी ग्रेड' ल्याउने ४३ हजार सात सय चार र 'डी' ल्याउने ३९ हजार नौ सय ३२ जना छन् ।

मौका परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले यसै शैक्षिक सत्रमा भर्ना भएर स्नातक तहमा अध्ययन गर्न पाउने छन् । मौका परीक्षामा पनि अनुत्तीर्ण भएकाहरूले भने आउँदो नियमित परीक्षामा सहभागी हुनुपर्नेछ । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहेमा १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया