असोज दोस्रो हप्ताको बाढीले बगाएका सबै राजमार्ग सञ्चालनमा

 कात्तिक ६, २०८१ मंगलबार १६:३६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : नेपाली सेना

काठमाण्डौ – गएको असोज ११ र १२ गतेको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका सबै राजमार्गहरु सञ्चालनमा आएका छन् । बाढी र पहिरोले ३४ वटा राजमार्गमा क्षति पुर्‍याएको थियो । सरकारले तत्कालै २९ वटा सञ्चालनमा ल्याएकोमा बाँकी दशैंपछि सञ्चालनमा आएका हुन् । ३४ वटा सडकका आठ सय पाँच ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकामा ति पहिरो हटाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

भत्किएको सडक र बाढीले बगाएको पुल निर्माण गर्न झन्डै २० अर्बदेखि २५ अर्ब रुपैयाँ लाग्ने मन्त्रालयको अनुमान छ । मन्त्रालयले निकालेको विज्ञप्तीमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिजसमेत राखी गाडी सञ्चालन गरेको उल्लेख छ । अन्य राजमार्गहरुमा यात्रा सहज हुन थालेपनि बीपी राजमार्ग अझै कष्टपूर्ण छ ।

काभ्रेको भकुण्डेबेसीको चौकीडाँडादेखि सन्धुलीको नेपालथोकसम्म रोशी खोलाको बाढीले सडक बगाएपछि वैकल्पिक बाटो निर्माण गरी आबागमन खुलाइएको छ । तर सडक असहजका साथै गाडीको चापले समस्या रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोशीको बेलिब्रिज सञ्चालनमा आएको छ । बाढीले पुल बगाएको २५ दिनपछि आजदेखि बेलिव्रिजबाट यात्रुबाहक गाडी गुड्न थालेका हुन् । सडक विभाग र नेपाली सेनाको सहयोगमा बेलिब्रिज तयार भएको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया