वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

 कात्तिक ७, २०८१ बुधबार १२:२:१८ | रासस
unn.prixa.net

पर्सा – वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट आएको छ । डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । देशभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगञ्ज रहेको छ ।

चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ६६ लाख ८० हजार रुपैयाँ बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाई–स्पिड डिजेल आयात भएको छ । भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा हाई–स्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको हो ।

डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाई–स्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै ल्याउने गरिन्छ ।

तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । असोज मसान्तसम्ममा ६ अर्ब ५८ करोड ४६ लाख ८३ हजार रुपैयाँ बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा २२ दशमलव ५२ प्रतिशतले घटेको हो ।

अमलेखगञ्जको नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो । त्यस्तै विद्युतीय गाडीमा आकर्षण बढ्न थालेपछि पेट्रोलियम पदार्थको खपत केही घटेको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले मनसुन सकिएको र मुख्य चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया