बाग्मती प्रदेशमा विपद्जन्य घटना : तीन अर्ब ४४ करोड रूपैयाँ मूल्य बराबरको क्षति

 कात्तिक १०, २०८१ शनिबार १२:२६:२३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर – बाग्मती प्रदेशमा बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा काठमाण्डौ उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको ज्यान भएको छ । सबैभन्दा बढी क्षति अघिल्लो महिना असोज १०, ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी भएको छ ।

यो विपद्मा एक सय ७७ जनाको ज्यान गएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीले बगाएर ११ जना र डुबेर नौ जनाको ज्यान गएको हो ।

यस्तै यही अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक/एक जनाको ज्यान गएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यस अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उहाँको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ ।

त्यस्तै विपद्बाट ती जिल्लामा नौ हजार सात सय ७८ पन्छी र पाँच सय १६ चौपाया मरेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यही अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको बाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

विपद्बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

बाढी, पहिरोजन्य विपद्बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद्बाट तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० रूपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया