काठमाण्डाैमा 'एआई' सम्मेलन शुरू

 कात्तिक ११, २०८१ आइतबार १४:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री केपी शर्मा ओली आइतवार काठमाण्डाैमा राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको 'एआई' सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनपछि रोबोर्टको नृत्य हेर्दै । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

काठमाण्डाै – काठमाण्डौमा अन्तर्राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन शुरू भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा दुई दिने सम्मेलन शुरू भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभएको छ । उहाँले सरकार 'एआई' सम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने तयारीमा रहेको भन्दै 'एआई' सँगै अन्य सूचना प्रविधिलाई विकास, विस्तार र व्यवस्थापन गर्न सरकार निजी क्षेत्र र नागरिक समाजबीच समन्वय र समझदारी आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले 'एआई' विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने बताउनुभयो ।

सम्मेलनमा 'एआई' सँग सम्बन्धित विभिन्न १० वटा शीर्षकमा छलफल हुनेछ । यस्तै नेपालमा 'एआई' को आधारस्तम्भ निर्माणको अवसर, चुनौती र रणनीतिक बाटो विषयमा अनुसन्धानपत्र प्रस्तुतीकरण गरिने युवा सङ्घ नेपालले जनाएको छ । विश्व बजारमा अहिले भइरहेको 'एआई' को विकास र उपयोगबारे नेपाली समाजलाई जानकारी दिन सम्मेलन आयोजना गरिएको सङ्घले जानकारी दिएको छ ।

सम्मेलनमा फ्युज मेसिन्सका समीर मास्के, ईयू रोबोटिक्सका जुहा रोनिङ, युनिभर्सिटी अफ हङकङ रोबोटिक्स सिस्टमका प्राध्यापक काजुहिरो कोसुजे, खलिफा विश्वविद्यालयका प्राध्यापक जर्ज म्यानुअल मिरान्ता डियास लगायतले धारणा राख्नेछन् । यस्तै गगन थापा, गिरिराजमणि पोखरेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवालीलगायतका नेताहरूले पनि 'एआई' को विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया