चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काभ्रेपलान्चोक – अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका वडा नम्बर १२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आउनुभएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ती गरेको एक महिना बढी भयो ।
राज्यले बासस्थान बनाईदिने भन्ने कुराले मनमा आशा पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यतिकै बितेको छ । तर अहिलेसम्म उचित व्यवस्थापनसमेत नगरेको उहाँको गुनासो छ । पाँच रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबारसँगै बाढीले बगाएपछि अहिले उहाँहरु छिमेकीको घरमा रात बिताउँदै आउनु भएको छ ।
‘खोलाको बाढीले ल्याएर थुपारेको ढुङ्गा, दाउरा र काठ पन्छाएर भए पनि अन्न फलाउने खेत त बनाउनै पर्यो ।’ यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै उहाँले भन्नुभयो, ‘आफ्नो भएको जग्गा नै यही हो, अरु विकल्प केही छैन ।’ खाद्यान्न चाही अलिअलि पाईरहेको र केही दिन अगाडी जस्तापाता बाँडेकोले लिएर राखेको उहाँले सुनाउनुभयो । सरकारले छिट्टै बास बस्ने ठाउँको उचित व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासँगै धमिलिएको मन केही भए पनि सफा हुने उहाँ बताउनुहुन्छ ।
बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गर्दै रहनुभएका माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने ठाउँको सुनिश्चितताको आशामा दिन बितिरहेको बताउनुभयो । पनौतीमा कोठा लिएर बस्दै आउनुभएका उहाँहरु बस्ने घर नै नभएपछि त्यहीको नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा हुनुहुन्छ ।
‘सधैँ त कोठा लिएर बस्न सकिँदैन ।’ उहाँले भन्नुभयो, ‘अब कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ ।’ खेती किसानी गरेर जीविको चलाउँदै आउनुभएका परिवारको आम्दानीको रुपमा रहेको फर्निचरसमेत घरसँगै बाढीले बगाएपछि एक महिनादेखि घर न कामको जीवन बिताइरहेको उहाँले सुनाउनुभयो ।
अर्का स्थानीयबासिन्दा मैना तामाङले घर ढलेको पीरसँगै खल्लो गरी बिताएको दशैँ पर्व सकिए लगत्तै तिहार नजिक आए पनि घरबार र खाने कमाउने कुनै टुङ्गो नभएको सुनाउनुभयो । त्यही ठाउँका नवराज गुरुङ गाउँका युवाहरुलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरु पन्छाउन थाल्नुभएको छ ।
यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकोमा बिस्तारै पुरिएको बासस्थान व्यवस्थित गर्न गालेको उहाँले बताउनुभयो । ‘बल्ल मान्छेहरुलाई केही फुर्सद हुन थालेपछि पुरेको ठाउँलाई सफा गरेर भल कटाउने ठाउँ बनाउन थालेको हुँ ।’ उहाँले भन्नुभयो ।
दुई तले घर बगाएपछि बिचल्लीमा रहेको शंकर तामाङ छिमेकीको घरमा बस्दै आउनुभएको छ । बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात सङ्घ संस्थाले वितरण गरेकोबाट चलाइरहेको उहाँ राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको बताउनुहुन्छ ।
यही गाउँका अर्का रविन्द्र नगरकोटीले बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीय सरकार एक पटक पनि सोध्न नआएको गुनासो गर्नुभयो । सबैचिज बगाएपछि बालबालिकाहरुको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चितता नभएर समस्यामा परेको उहाँको भनाइ छ ।
स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि विचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताउनुभयो । ‘विपद्पछि उद्धार र राहतसँगै बाटोघाटो त बन्यो, तर उहाँहरुलाई त्यसले खासै छोएको छैन ।’ उहाँले भन्नुभयो, ‘सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाई खाने ठाउँ छैन । राज्यले यहीको भूगोललाई छनौट गरेर एकीकृत रुपमा बस्ने आवासको बस्ती व्यवस्थापन गर्न आवश्यक छ ।’ बस्ने घर नै नहुँदा बालेको विजुली, पुर्याएको मोटरबाटो र खानेपानी कसरी उपभोग गर्ने ? ती सबैले नछोएको मनलाई सुरक्षित आवासले मात्रै छुनसक्ने भएकाले राज्यले अब त्यसमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।
पनौती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष जयराम केसीले यहाँका नागरिकको लागि बगरमा बाढीको र डाँडापाखामा पहिरोको डर भएकाले व्यवस्थित एवम् एकीकृत बस्ती विकासतर्फ नै सोच्दा उचित हुने देखिएको कारण सङ्घीय सरकारको सहयोगको अपेक्षामा रहेकोले नागरिकको आवास व्यवस्थापनमा ढिलाइ भइरहेको बताउनुभयो । अब वडाले बासस्थानको लागि उचित ठाउँको अभाव भएको कारण तिहारपछि जनप्रतिनिधिको बैठक बसेर आवास व्यवस्थापनको लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभयो ।
वडाभित्रमा ५ जनाको ज्यान गएको र तीन सयभन्दा बढी घरहरुको पूर्ण क्षति भएको जनाइएको छ । जसमा ७० भन्दा बढी गाईभैँसी, पाँच हजारभन्दा बढी कुखुरा र दुई सयभन्दा बढी खसीबोकाहरु पुरिएको छ । अझै विवरणहरु सङ्कलन भइरहेको र सडक, विद्युत, खानेपानी लगायतका कामलाई व्यवस्थित गर्दै अगाडी बढिरहेको वडा कार्यालयले जनाएको छ ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पहिलो आवश्यकता आवास भएकाले बस्ने ठाउँको व्यवस्थापन गर्न सकेको अवस्थामा वस्तुभाउ पालेर पुनःजीवनयापनलाई विस्तारै पुरानै लयमा फर्काउन सकिने भएको त्यसको आवश्यक व्यवस्थापन गर्ने तयारीमा जुटिरहेको बताउनुभयो ।
अहिलेको पीडिले विपत्ति सहेको र अर्को पीडिले विपत्ति सहन नपरोस् भन्नका लागि पनि राज्यले सुरक्षित रुपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसमा सङ्घीय सरकारबाट नै सहयोग गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले तत्कालका लागि खाद्यान्न लगायतका आवश्यक व्यवस्थापनका लागि विभिन्न सङ्घ/संस्थाहरुले वितरण गर्ने नगद सहयोगमा वितरणमा ५ जनासम्मको परिवार भएकोलाई १५ हजार र त्यसभन्दा बढी भएको परिवारलाई २० हजारका दरले एकरुपता हुने गरेर वितरण गर्ने निर्णय भएको जनाएको छ ।
बासस्थान निर्माण गर्ने विषयमा जोखिमयुक्त बस्तीको भौगोकिल अवस्था अध्ययनका लागि राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र शहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।
विपद्पछिको एक महिनामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतले बाढीपहिरो प्रभावित क्षेत्र पनौती १२ रोशी बजार क्षेत्र कलाँती भूमिडाँडाको स्थलगत निरीक्षण गरिसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।