अमेरिकामा राष्ट्रपति पदका लागि भइरहेको मतदान अन्तिम चरणमा, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा

 कात्तिक २१, २०८१ बुधबार ६:८:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपतिको चुनावमा भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ । इन्डियाना,  साउथ क्यारोलिना, भर्मन्ट, भर्जिनिया र जर्जिया लगायतका मुख्य राज्यमा मतदान बन्द भइसकेको बीबीसीले जनाएको छ ।

अमेरिकामा राष्ट्रपति पदका लागि भर्मन्ट राज्यबाट शुरू भएको मतदान शान्तिपूर्ण रूपमा चलिरहेको छ । चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा भइरहेको छ ।

अमेरिकामा २३ करोड १० लाख व्यक्ति मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेको तथ्याङ्क छ । चुनावको मुख्य दिनअघि नै आठ करोड १३ लाखभन्दा धेरै मतदाताले अग्रिम मत खसालिसकेका छन् । धेरैजसो राज्यमा चुनावको दिनअघि नै मतदाताहरूलाई अग्रिम मत दिने सुविधा दिइएको हुन्छ ।

सन् २०२० मा १० करोड १० लाख अग्रिम मतदान भएको थियो । अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलमा आधारित छ । पाँच सय ३८ इलेक्टोरल कलेजमध्ये दुई सय ७० मत ल्याउनेले जीत हासिल गर्न सक्नेछन् ।

सर्वेक्षणहरूले ट्रम्पभन्दा ह्यारिस केही अघि रहेको देखाएको छ । तर यो चुनाव इतिहासकै कडा प्रतिस्पर्धा रहेको बीबीसीले आफ्नो लेखमा उल्लेख गरेको छ ।

यो चुनावबाट सङ्घीय संसद्को तल्लो सदनका सबै चार सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन् । 

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया