मनपरी हवाई भाडा बढाएर यात्रु ठग्ने वायु सेवा कम्पनीलाई कारबाही हुन्छ : पर्यटनमन्त्री पाण्डे

 मंसिर २, २०८१ आइतबार १५:१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा बढाएर यात्रुलाई ठग्ने वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले उपभोक्ताको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरूलाई मन्त्रालयले कारबाही गर्ने चेतावनी दिनुभएको हो । उपभोक्ताको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन उहाँले वायु सेवा कम्पनीहरूलाई निर्देशन दिनुभयो ।

गएको शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर स्तरोन्नितिको काम शुरू भएदेखि वायु सेवा कम्पनीहरूले मनपरी हवाई भाडा बढाएको यात्रुले गुनासो गर्दै आएका छन् । पर्यटनमन्त्री पाण्डेले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताउनुभयो । अहिले क्रमिक रूपमा हवाई भाडादर पुरानै मूल्यमा आएको मन्त्री पाण्डेले जिकिर गर्नुभयो । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएको उहाँको भनाइ छ ।

यस्तै मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान विस्तार गर्न मन्त्रालयले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको जानकारी गराउनुभयो । उहाँले भैरहवामा अहिले पाँच वटा एयरलाइन्सले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पुर्‍याउने भन्ने योजनामा मन्त्रालय रहेको बताउनुभयो ।

उहाँले भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने तथा पोखरामा पर्यटकहरूसँग सम्बन्धित उडान गर्नेगरी योजना अघि बढाएको उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया