‘काठमाडौंलाई फोहोरको डंगुर बनाउनेहरु अहिले उफ्री-उफ्री सोध्छन्, आठ महिनामा के गर्यौं ?’

 मंसिर १५, २०७५ शनिबार १७:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लघुवित्त संस्थाहरुले उच्च ब्याज लिने गरेको भन्दै राष्ट्रबैंकको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने बताउनुभएको हो ।

गरिबका लागि र गरिबको पक्षमा खोलिएका लघुवित्त संस्थाहरुले सुविधा सम्पन्न शहरी क्षेत्रमा पनि १८ प्रतिशत ब्याज लिने गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले राष्ट्रबैकबाट कार्यक्रममा उपस्थित अधिकारीप्रति इंगित गर्दै लघुवित्त संस्थाहरुले लिने उच्च ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

गरिबी निवारणमा सहयोगी भूमिका निर्वाह गर्न, गरिब, पछाडि परेको समुदाय, महिला लगायतलाई उत्पादनशीलतामा संलग्न गराउनका लागि उपयोगी बन्नुपर्ने संस्था नै लगानीकर्तामुखी भएको भन्दै प्रधानमन्त्री ओलीले ब्याजका बारेमा सामूहिक सहमतिमा निर्णय गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले परिर्वतन रुचाउन नचाहनेहरुले नागरिकलाई माया गर्ने र स्पष्ट दृष्टिकोण भएको सरकारविरुद्ध भ्रमात्मक प्रचारबाजी गरेको टिप्पणी गर्नुभयो । उहाँले काठमाडौं उपत्यकालाई फोहरको डंगुर र धुलाको थुप्रो बनाएर छाड्नेहरुले नै आफूलाई के गरिस् भनेर सोध्ने गरेको भन्दै व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कमसेकम ३० वर्ष सरकार चलाएकाहरु, सरकार चलाएर काठमाडौंलाई फोहेरको डंगुर र धुलाको थुप्रो बनाएर सास फेर्न नसक्ने बनाएर छाड्नेहरु , अहिले उफ्री उफ्रीकन सोध्छन्, आठ महिनामा के गरयौ ?’

देशमा विकासको बाटोमा अघि बढेको देख्न नचाहने शक्तिले आफूविरुद्ध दुष्प्रचार गरेको दाबी पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले विकासको बाटोमा देश अगाडि बढ्न थालेकोले केही चिन्तित छन् । दुष्प्रचारको सिंङ जुधाँउनेहरु आफैँ रगतपच्छे हुन्छन् ।’

प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रमा क्रमश सुधार आउँदै गएको भन्दै लघुवित्त संस्थाहरुबाट सुविधा लिएर व्यवसाय गर्न सुझाव दिनुभयो । दुई दिने सम्मेलनमा देशभरका ७५ लघुवित्तका सात सय सदस्य सहभागी छन् ।

नेपालमा लघुवित्त सुरु भएको तीन दशक पुगेको छ । गरिबी निवारण र सामाजिक रुपान्तरणका लागि लघुवित्तको अवधारणा सुरु भएको भए पनि पछिल्लो समय लगानी र ब्याजदरका विषयमा सेवाग्राहीको गुनासो बढ्दै गएको देखिन्छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया