मुन्दुम पदमार्गको विकासका लागि भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिकाहरू जुट्दै

 पुष १०, २०८१ बुधबार १५:३:२३ | रासस
unn.prixa.net

मुन्दुम पदमार्गअन्तर्गत भाेजपुरकाे टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा रहेकाे मलुवा पोखरी । तस्वीर : रासस

भाेजपुर – सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गको विकास गर्न भोजपुरसहित तीन वटा जिल्लाका पालिका जुटेका छन् ।

‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’  घोषणा गरेर भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिका यो पदमार्गको विकास तथा विस्तारमा जुटेका हुन् । भ्रमण वर्षमा पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख जना पर्यटक भित्र्याउने लक्ष्य छ ।

पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गका रूपमा लिइने मुन्दुम पदमार्गको विकासमा तीन वटा जिल्लाका पालिका एकजुट बनेर अघि बढेको भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

भ्रमण वर्षलाई लक्षित गरेर पर्यटन प्रवर्द्धनका लागि मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ–४ नागीमा आउँदो माघ १ देखि ५ गतेसम्म ‘सांस्कृतिक, पर्यटन तथा कृषि मेला को आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । यो कार्यक्रममार्फत मुन्दुम पदमार्गको प्रवद्र्धन र दिगो विकासका लागि यस क्षेत्रमा पर्ने पालिकाको साझा अवधारणापत्र सार्वजनिकसँगै संयुक्तरूपमा हस्ताक्षर गरिने उहाँको भनाइ छ ।

मेलामा पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादनको प्रदर्शनी पनि गरिनेछ । मुन्दुम पदमार्गको बृहत्तर विकासका लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, खोटाङको केपिलाशगढी गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सोलुखुम्बुको महाकुलुङ गाउँपालिका संयुक्तरूपमा जुटेका हुन् ।

यो पदमार्गको थप विकास तथा विस्तारका लागि स्वीस सरकार, केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा यो वर्ष एक करोड ८५ लाख रुपैयाँ बराबरको काम गरिने टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । भ्रमण वर्षलाई केन्द्रित गरेर पदमार्गको विस्तार, भौतिक संरचनाको निर्माणसँगै खानेपानी, शौचालय, विश्राम स्थललगायतको निर्माण थालिएको उहाँको भनाइ छ ।

मुन्दुम पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकसाथ हेर्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया