आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

 पुष २६, २०८१ शुक्रबार १८:३:२१ | रासस
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगो बाल्दा वा हिटर तथा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति निकालेर जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएको छ, ‘आगो ताप्ने, हिटर बाल्ने वा गिजर आदि उपकरणहरूको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा कार्बन मोनोअक्साइड जम्मा हुन सक्छ । कार्बन मोनोअक्साइड गन्ध, रङ्ग र स्वादरहित एक विषाक्त ग्यास हो जसको सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्या हुने वा ज्यान पनि जान सक्दछ ।’

यी उपकरणहरूको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । मन्त्रालयले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र त्यस्ता उपकरण प्रयोग गर्न, सकेसम्म कोइला आधारित स्रोतबाट आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने सामग्री नजिक नराख्नु र आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउनसमेत अनुरोध गरेको छ । ‘सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउन, गिजरको मुख्य मेशिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न, गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्नु हुन मन्त्रालय अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यी उपकरणको प्रयोग गर्दा टाउको दुख्ने, रिङ्गटा चल्ने आदि जस्ता लक्षण देखिएमा तुरुन्त झ्याल ढोका खुला गरी हावा ओहोरदोहोर गराउन वा खुला ठाउँमा जान पनि मन्त्रालयले अनुरोध गरेको छ । लक्षणहरू कम नभएमा वा अझै खराब भएमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन वा मन्त्रालयको ‘हेल्लो स्वास्थ्य कल सेन्टर १११५’ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया