काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि राष्ट्रिय सभागृहमा शैक्षिक मेला आयोजना गर्दै

 फागुन १५, २०८१ बिहीबार १५:४८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृह परिसरमा ‘काठमाण्डौ शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।

मेलाका बारेमा जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागेको बताउनुभयो ।

कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र सङ्घ–संस्थाहरूसँग सहकार्य हुने बताउँदै उहाँले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आउँदा कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको जानकारी दिनुभयो ।

महानगरका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिनेछन् ।

मेला आयोजनाका लागि महानगरपालिकाको शहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्नेछन् । प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरू नै हुनेछन् ।

महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ र पाँच सय २४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार नौ सय ३४ गरी दुई लाख ७२ हजार दुई ६३ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया