पश्चिम नेपालमा पानी पार्ने प्रणाली सक्रिय

 फागुन १५, २०८१ बिहीबार १७:५७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – यस वर्षको हिउँदयाम सकिँदै गर्दा पश्चिम क्षेत्रमा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भएको छ । आज बेलुकादेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको जम्मु–काश्मीर, हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली सुदूरपश्चिम र उच्च हिमाली क्षेत्रमा आइपुगेको मौसमविद्ले बताएका छन् । यो प्रणाली भोलि दिउँसोसम्म काठमाण्डौ आइपुग्ने तर पश्चिमको तुलनामा कमजोर रहने अनुमान छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । भोलि काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा छिटपुट पानी पर्न सक्ने अनुमान छ । मधेशबाहेक अरू ठाउँमा प्रभाव परे पनि पूर्वमा सामान्य असर पर्ने अनुमान छ । पर्सि शनिवार आज र भोलिभन्दा कम वर्षा हुने मौसमविद् लामिछानेले बताउनुभयो । मधेश र लुम्बिनीबाहेकका प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भोलि र पर्सिसम्म नै हल्का हिमपातको सम्भावना छ । पर्सि बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

नेपालमा मङ्सिर मध्यदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । हिउँदमा सरदर ६० मिलिमिटर पानी पर्ने भए पनि यो वर्ष अहिलेसम्म झन्डै १० दशमलव ६ प्रतिशतमात्रै वर्षा भएको छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया