काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा, आजदेखि 'प्रि–मनसुन' शुरू

 फागुन १७, २०८१ शनिबार ६:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । पछिल्लो २४ घण्टामा कालीकोटको विजयपुरमा सबैभन्दा धेरै ७४ दशमलव ४ र नाग्ममा ७२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा २९ दशमलव ६, जुम्लामा ४७ दशमलव ७, डडेल्धुरामा ४७ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी काठमाण्डौ उपत्यकासँगै मुगु, हुम्ला, बैतडी, डोटी, डोल्पा, म्याग्दी, पाल्पा, नुवाकाेट, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लामा पनि वर्षा भएको छ । तराई मधेशबाहेकका प्रदेशमा केही ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईमा भने बिहान केहीबेर हुस्सु लागेर दिउँसो हट्ने छ ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र  गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जानकारी दिएको छ ।

आजदेखि प्रि–मनसुन शुरू भएको छ भने पश्चिमी प्रणालीको प्रभाव पनि कायम रहनाले वर्षा र हिमपातको सम्भावना छ । आज बेलुका आंशिक रूपमा र भोलिदेखि भने मौसम पूर्णरूरुपमा सफा हुने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया