गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन सक्दैन : एमाले

‘वंशगत शासनको बहस आफैँमा हास्यास्पद, हानिकारक र निरर्थक’

 चैत ४, २०८१ सोमबार १७:२१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको पार्टीको सचिवालय बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध सुनियोजित गतिविधिहरू भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र नेपाली नागरिकको सात दशक लामो बलिदानी सङ्घर्षको परिणाम भएको उल्लेख गर्दै उहाँले नागरिककाे यस फैसलालाई उल्ट्याउने र देशलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेको सुनियोजित गतिविधिहरूप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतन्त्र स्थापनापछिको छोटो समयमा नै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । गर्नुपर्ने कामहरू धेरै छन् तर उपलब्धिलाई अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसकै बहानामा देशलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन सक्दैन । २१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद, हानिकारक र निरर्थक विषय हो ।’

बैठकमा एमालेले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह र आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न प्रतिबद्ध रहेको बताएको छ । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरी लोकतान्त्रिक प्रणाली थप सुदृढ बनाउन दृढ सङ्कल्पित रहेको बताएको छ ।

यस्तै बैठकले लुम्बिनी प्रदेश कमिटीले अनुमोदनका लागि पठाएको प्रदेशमा थप गरिएका २८ जना सदस्यको नाम अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । उहाँले अहिलेको समयमा पनि विपक्षी दलहरूले सरकारमा भागबन्डा खोज्नु र सरकारमा जाने भर्‍याङ बनाउनुले गम्भीर नैतिक प्रश्न उठेको जिकिर गर्नुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया