अमेरिकाबाट फिर्ता ल्याइएका २१ वटा पुरातात्त्विक सम्पदा पालिकालाई हस्तान्तरण (तस्वीरहरू)

 चैत १७, २०८१ आइतबार १५:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाबाट फिर्ता ल्याएका २१ वटा पुरातात्त्विक महत्त्वका कलात्मक वस्तुहरू पुरातत्त्व विभागले सम्बन्धित पालिकालाई हस्तान्तरण गरेको छ ।

नेपालबाट विभिन्न समयमा चोरी गरेर अमेरिका पुर्‍याइएका ती सम्पदा केही हप्ताअघि नेपाल ल्याइएकामा आज बिहान विभागले पालिकालाई हस्तान्तरण गरेको हो । यीमध्ये तीन वटा पौवा चित्रहरू १५ देखि १८औं शताब्दीका रहेका छन् ।

यी पौवा चित्रहरू काठमाण्डाैमा रहेको इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने नवौं शताब्दीको एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति बुङ्गमतीको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो । यस्तै आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति १२औं वा १३औं शताब्दी तथा अन्य १६ थान कलात्मक वस्तुहरू ९औं देखि १९औं शताब्दीका हुन् । ती सम्पदा नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुर्‍याइएका थिए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली सम्पदाहरू संसारको कुनै पनि कुनामा पुगे पनि नेपाली सम्पदाको महत्त्वलाई बुझेर सम्पदा फर्काउने योग्यता राख्ने बताउनुभयो । उहाँले आफ्नो आस्था जोगाउन अब सक्षम रहेको दाबी पनि गर्नुभयो ।

अहिलेसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट एक सय ७७ थान पुरातात्त्विक महत्त्वका मूर्तिहरू तथा कलात्मक वस्तुहरू फिर्ता भइसकेका छन् । अमेरिका, फ्रान्स, बेलायत, चीन, अस्ट्रिया, अस्ट्रेलियाजस्ता देशहरूबाट थप अरू केही कलात्मक वस्तुहरू फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छ । अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्त्विक महत्त्व भएका वस्तुहरूको सङ्ख्या एक सय चार वटा पुगेको छ ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया