धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
डोटी – सुन्दा अचम्म लाग्न सक्छ, डोटीको बडीकेदार गाउँपालिकाको वडा नम्बर ५ केदारमाडौंका गर्भवती महिलाहरुले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको अनुहार देखेकै छैनन् ।
यहाँ ४५ परिवार छन् । सबै मगर जाती । ५/७ सन्तान नजन्माउने दम्पती न्यून छन् । सबैका सन्तान घरमै जन्मिने गरेका छन् । औंलामा गनिने मात्र लेखपढ गरेका छन् ।
जनचेतनाको निकै कमी रहेको छ । त्यहाँबाट स्वास्थ्य संस्था गाउँदेखि पुग्न पाँच घण्टा लाग्छ । ‘यिनीहरु भगवान भरोसामा छन्, अहिलेसम्म गाउँका कुनै महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका छैनन’, केदारमाडौं गाउकी स्वयंमसेविका भावना पुनमगरले भन्नुभयो, ‘शहरतिर जीरो होमडेलीभरी भन्ने नारा छ, हाम्रातिर जीरो हस्पिटल डेलिभरी छ ।’
स्वास्थ्य संस्था रहेको लानाको मार्कोट उनीहरुका लागि अपायक गाउँ हो । मार्कोटका स्थानीयसँग खानपान, रहनसहन, बोलीभाषा पनि मिल्दैन । स्वास्थ्य संस्था जानुभन्दा भगवानसँग प्राथना गर्दै घरमै प्रसूति गराउन उनीहरु उचित सम्झन्छन् ।
स्थानीय जयप्रकाश घर्तीमगर भन्नुहुन्छ, ‘भगवानकै कारण अहिलेसम्म घरमै बच्चा जन्माउँदा पनि कसैको ज्यान गएको छैन ।’ घाङ्गल जदी गाउँकी ३३ वर्षीया बिस्ना रोक्का मगरले गएको वर्ष मृत छोरा जन्माउनुभयो । ७ दिनसम्म उहाँको साल निस्केन । सीतादेवी बेहोस हुन थालेपछि मात्र परिवारले ४ घण्टा पीठ्यूँमा बोकी घाङ्गल स्वास्थ्य चौकी ल्याइपुर्याए ।
स्वास्थ्यचौकी इन्चार्ज भक्त ताम्राकारले ज्यान जोखिममा रहेको भन्दै साल झिक्न नेपालगञ्ज रिफर गर्नुभयो । नेपालगञ्ज गएपछि उहाँले पुर्नजन्म पाउनुभयो । ‘कालको मुखबाट फर्केर आइन्,’ इन्चार्ज ताम्राकारले भन्नुभयो, ‘सात दिनसम्म मृत्यु पर्खने तर स्वास्थ्य संस्था नआउने परिवार उनीमात्र होइन, गाउँमा अझैं सयौं छन् ।’
घाङ्गलकै लटाली गाउँकी मीना जेठाराको कथा पनि उस्तै छ । २६ वर्षकी मीना जेठाराले गएको भदौमा घरमै छोरो जन्माइन् । बच्चा जन्मियो तर १८ घण्टासम्म साल अड्कियो । मीनालाई भिरको बाटो ३ घण्टा हिँडेर स्वास्थ्य संस्था लैजान परिवारले सकेनन् । ज्याननै नबच्ने भएपछि उहाँका श्रीमानले घाङ्गल स्वास्थ्य चौकीबाट अनमी मनिसा साउदलाई गुहार्नुभयो ।
घरमै पुगेर अनमी मनिसाले साल झिकिदिनुभयो र उहाँको ज्यान जोगियो । दुर्गम गाउँका यी नमुना घटनामात्र हुन् । जनचेतनाको अभाव र स्वास्थ्य संस्थामा पहुँच नहुदा डोटीका ग्रामिण क्षेत्रका सयौं बिरामीहरु उपचारबाट बञ्चित हुने गरेका छन् ।
गर्भवती महिला भौगोलिक कारणले घण्टौं पैदल हिँडेर स्वास्थ्य संस्था जानुभन्दा घरमै ‘भगवान भरोसा’ कामना गरेर प्रसूति भइरहेका छन् । जिल्लामा यस्ता दर्जनौं गाउँ छन् जहाँका महिलाहरु घरमै सुत्केरी हुन बाध्य छन् ।
इलाका स्वास्थ्य चौकी लानाकी निमित्त इन्चार्ज बिस्ना बम चन्दले स्वास्थ्य चौकीमा उपचारका लागि आउन एक दिन लाग्ने गाउँहरु पनि थुप्रै नागरिक रहेको बताउनुभयो ।
साबिकको लानाकेदारेश्वर गाविसको वडा नम्बर १ को केदारमाडौं, ५ को धारी तथा ६ नं. वडाको भवना गाउँका झण्डै डेढसय घरबाट महिलाहरु गर्भवती हुँदा पनि स्वास्थ्य संस्था नआउने गरेको उहाँले बताउनुभयो ।
‘अहिलेसम्म एक जनालाई पनि केही भएको छैन, दुःख गरी किन अस्पताल जाने भन्ने जस्ता धारणा पालेर नआउने पनि धेरै छन्’, उहाँले भन्नुभयो, ‘यथार्थमा बच्चा र आमाको स्वास्थ्यमा परेको असर उनीहरुलाई प्रभावकारी कार्यक्रम ल्याएर बुझाउन सकेका छैनौं । बच्चाले दिशा खाएको, सेतो पानी बगीरहेको, जीउमा इन्फेक्सन भएको उनीहरुले चाल पनि पाउँदैनन् ।’
घाङ्गलको पातल, मेहली, नाकोट, धारापानी, बग्र, पालासैन, गाजरी, जदी, लटालीलगायतका २ सय परिवारका गर्भवती महिला पनि स्वास्थ्य संस्था नआएर घरमै प्रसूति हुने गरेका छन् ।
घाङ्गल स्वास्थ्य चौकी इन्चार्ज भक्त ताम्राकारले भौगोलिक रुपले टाढा तथा जनताचेतनाका कारण स्वास्थ्य संस्था नआउने कारण भए पनि परिवार तथा गर्भवती महिलाले लापरबाही गर्नु पनि मुख्य कारण रहेको बताउनुहुन्छ ।
बडीकेदार गाउँपालिकाको वडा नम्बर ५ मार्कोटमा इलाका स्वास्थ्य चौकी छ ।
स्वास्थ्य चौकीको भव्य भवन छ, दक्ष स्वास्थ्यकर्मी पनि छन् । गर्भवती महिलाका लागि आवश्यक छुट्टै प्रसूति कोठा, कुरुवाका लागि बन्दोबस्तीका आवश्यक सामाग्री पनि छन् ।
तर त्यहा“ प्रसूति हुन खासै जान चाहदैनन् । त्यसको एउटै कारण हो अन्धविश्वास । स्वास्थ्य चौकी भवनको दक्षिण क्षेत्र प्रसूति कोठा छ । त्यही कोठाको भित्तासँग जोडिएको डुणेबिगरगाणि मन्दिर छ । नजिकै मन्दिर भएकाले गर्भवती महिला स्वास्थ्य संस्था जान हिच्किचाउँछन् ।
‘सुत्केरी महिलामा त भगवानको ठाउँभन्दा पर नै बस्नुपर्छ भन्ने रुढीबादी सोच छ’, अनमी बिस्ना बम चन्दले भन्नुभयो, ‘धेरै जस्तो सुत्केरी कोठामा पस्नै मान्दैनन् । राती भगवान रिसाउँछन् भनेर कुरुवा पनि बस्दैनन् ।’
स्वास्थ्य चौकीले तयार पारेको सामुदायिक अंक पत्रमा पनि स्वास्थ्यकर्मीहरुले त्यस्तो कुरा उल्लेख गरेका छन् । अन्धविश्वासका कारण स्वास्थ्य संस्था नजिकै मन्दिर भएका कारण गर्भवती महिला नियमित चेकजाँच तथा प्रसूति गराउन स्वास्थ्य संस्थामा नआउने गरेको कुरा उल्लेख गरिएको छ ।
स्थानीय चक्र बोहराले महिला महिनावारी हुने समयावधिलाई भन्दा प्रसूति भएको समयावधिलाई बढी छोइछिटो गर्ने रुढीबादी भएकाले मन्दिर नजिक नजाने चलन रहेको बताउनुभयो ।
गर्भवती महिलाले हप्ता दिनभन्दा बढी सुत्केरी भएका बेला मानिसलाई छुन नहुने, भगवान तथा मठमन्दिरतिर हेर्न तथा जान नहुने कु–संस्कार छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।