कीर्तिपुर मैदनमा नयाँ डिजिटल स्कोर बोर्ड, दर्शकका लागि ‘फ्यान ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाडौं – ‘मेरो श्रीमानलाई कसरी जीवित बनाउने होला ?’ पतिको मृत्युदर्ताको प्रमाणपत्र दराजबाट निकाल्दै सन्तोषीले सोधिन् ।
श्रीमतीको प्रश्न सुनेर छेवैमा बसेका उनका श्रीमान् सुवास तामाङ मुस्कुराए । सुवास जीवित छन्, त्यसैले मुस्कुराउँछन्, तर कानूनी रुपमा उनी मरिसकेका छन् । त्यसैले उनको साथमा आफ्नै मृत्युको प्रमाणपत्र पनि छ ।
पतिको मृत्युदर्ता प्रमाणपत्र हातमा बोक्ने महिलामध्ये सन्तोषी त्यस्तो भाग्यमानी महिला हुन्, जसको साथमा श्रीमानको मृत्युदर्ताको प्रमाणपत्र सँगै सुखदुःखमा साथ दिने श्रीमान् पनि छन् ।
साउदी र नेपाल सरकारबाट मृत्यु भइसकेको प्रमाणपत्र पाएका उनका श्रीमान् अब कानूनी रुपमा कसरी जीवित होलान त ? सन्तोषी मृत्युदर्ताको प्रमाणपत्र हेर्दै छक्क पर्छिन् ।
मोरङको बेलबारी नगरपालिकाको लक्ष्मीमार्गकी सन्तोषी तामाङको प्रश्न सुन्दा जसलाई पनि अचम्म लाग्छ, तर प्रश्नभन्दा धेरै अचम्मलाग्दा अनुभव भोग्दै सन्तोषीको जिन्दगीको रथ पनि अघि बढ्दैछ ।
कमाउन गएका श्रीमान् गुमाउनु, विधुवा हुनु, फेरि त्यही श्रीमान् जीवित भएर फर्किदाका उनका भोगाइ एकादेशका कथा जस्तै छन् । सन्तोषीलाई पनि आफ्नो भोगाई संसारका मानिसका भन्दा फरक लाग्छन् ।
सन्तोषीका श्रीमान् सुवास साउदी गएको १ वर्षमात्र भएको थियो । भोजपुरको कुदाक काउले स्थायी घर भएका सुवास मोरङमा बसाईं सर्दाको साढे सात लाख रुपैयाँ ऋण तिर्नका लागि २०७१ सालमा साउदी उडेका थिए ।
सुवास साउदीमा हेभी हुण्डाई कम्पनीमा काम गर्थे । उनको काम र कमाई राम्रो थियो । वर्ष दिन बितेपछि उनी घरबिदामा मोरङ आए । दुई महिनाको छुट्टिमा घर बसे । त्यसपछि सुवास २०७२ जेठमा फेरि साउदी फर्किए ।
घर बिदाबाट भर्खरै फर्किएकाले सुवासले पहिले जस्तो घरमा नियमति फोन गर्दैन थिए । महिना नमरेकाले तलब आएको थिएन । फ्रि कलको अफर पाएको बेला सन्तोषी र सुवास सबै कुरा गरी भ्याउँथे ।
सुवास घरबाट बिदा भएको एक महिना पनि पूरा भएको थिएन । जेठमा फर्किएका सुवासको बारेमा असार २४ गते सन्तोषीले नसोचेको खबर आयो ।
सन्तोषी नजिकैको पसलमा मासु किन्न गएकी थिइन् । मासु पसलमा उभिइरहेकी सन्तोषीको फोन बज्यो । फोनको घण्टीसँगै आएको खबर सन्तोषीको जीवन उथलपुथल पार्ने किसिमको थियो । खबर थियो, रोजगारीका लागि साउदीमा भएका उनका श्रीमान् सुवास दुर्घटनामा परेको ।
उनी रुँदै घरमा पुगिन् । ‘म घरमा आउँदा सबैजना रोइरहेका रहेछन् । केही सोच्न सकिन, डङरङ्ग ढलेछु’ सन्तोषी त्यो दिन यसैगरी सम्झिन्छिन् । त्यो फोनको घण्टी सन्तोषीको मोवाइलमा बज्नु अघि सबै आफन्तका फोनमा बजिसकेको थियो । उनका श्रीमान् दुर्घट्नामा परेर मरेको खबर सबैको कानमा पुगिसकेको थियो ।
सन्तोषी त उनै श्रीमानको फोन कुरिरहेकी थिइन । शुक्रबार २४ गते दुर्घटनामा परेका श्रीमानसँग सन्तोषीको बुधबार कुराकानी भएको थियो । आइतबार र बुधबार फ्रि कलको अफर पाउने भएकाले सुवासले सन्तोषीलाई आइतबार फोन गर्छु भनेका थिए ।
सुवासले शुक्रबार तलब आएपछि घर पैसा पठाउँछु पनि भनेका थिए । सन्तोषीलाई फोनमा भनेजस्तै सुवास महिनाभरीको तलब लिएर त्यो दिन काम गर्ने ठाउँ हुण्डाईबाट घरमा पैसा पठाउन बैंक गए । तर साउदीमा त्यो दिन चाड परेकाले उनले घरमा पैसा पठाउन पाएनन् ।
आइतबार फोन गर्ने उनको बाचा पनि पूरा भएन । पैसा पठाउन नपाएपछि कम्पनी फर्कदै गर्दा सुवास बाटोमै दुर्घट्नामा परे । साउदीमै काम गर्ने सन्तोषीका साईंला देवरले उनलाई त्यही खबर दिएका थिए ।
सबैले मृत्युको खबर पाए पनि सन्तोषीलाई पूरा खबर दिइएको थिएन । तर पसलबाट घरमा पुग्दा सबैजना भेला भएका थिए । यो देखेपछि सन्तोषीलाई पनि श्रीमान् मरेको अनुमान लाउन धेरै बेर लागेन ।
त्यसपछि सन्तोषीलाई आकाशले गल्र्याम्म थिचे जस्तो भयो । खबर सुनेपछि ढलेकी सन्तोषी उठ्न सकिनन् । खान छाडिदिइन् । होसमा आउँदा रुन्थिन मात्र । उनलाई बचाउन ‘स्लाइन’ दिएर राखियो ।
‘धेरै त बेहोस हुन्थी, होसमा आएपछि मर्छु भन्ने, कुद्ने गरेपछि हामीले उसलाई लठ्याउने सुई दिएर राखेको,’ सन्तोषीकी माइली काकी वेदमाया गुरुङ ती दिन अहिले पनि दुस्वप्न झै सम्झिरहन्छिन् ।
श्रीमानको मृत्युको २७ दिन बित्दा पनि सन्तोषी मुढो झैं थिइन् । दुर्घट्ना भएको २७ दिनपछि सुवासको शव आयो । मुढोझैं भएकी सन्तोषी मोरङबाट श्रीमानकाे शव बुझ्न काठमाडौं आइन् । ससुरा र माइतीको साथमा काठमाडौं आएकी सन्तोषीले नै विमानस्थलमा श्रीमानको शव बुझिन् ।
‘एयरपोर्टमा सहि गर्दा पर बाकस देखें । दुईवटा बाकस थियो । म त त्यहि ढलेंछु, ब्युझिँदा त कारमा रहेछु । एसीको हावा चलिरहेको थियो,’ सन्तोषी सम्झिन्छिन् । शव बुझ्न सहि गर्दैगर्दा परबाट गुड्दै आएको बाकस देखेपछि सन्तोषी बेहोस भएर ढलेकी थिइन् । बेहोस भएकी सन्तोषीलाई आफन्तले त्यहीे विमानस्थलमा कसैको कारमा राखेको थियो ।
विमानस्थलबाट सुवासको शव मोरङ लगियो । काठमाडौंदेखि पाँच सय किलोमिटर भन्दा धेरै बाटो कसरी पार भयो सन्तोषीलाई याद छैन । ‘कोठामा बाकस राखेपछि मैले मेरो कालेलाई घरमा ल्याइर्पुयाएँ भनेको याद छ, त्यसपछि केही थाहा छैन्,’ सन्तोषी आँशुलाई रोक्न थुक निल्दै बोलिन् ।
उनी होसमा आउँदा अन्तिम संस्कारको तयारी भैसकेको थियो । संस्कार अनुसार घरमा लामा पढिरहेका थिए । बाकसमा कोचिएर आएका श्रीमानलाई सन्तोषीले हेर्ने आँट गरिनन् ।
फेरि दुर्घटनाको बारेमा आएको कहालीलाग्दो खबरले उनलाई श्रीमानको अनुहार हेर्ने आँट आएन । मोरङमै सुवासको सदगत गरियो । श्रीमानको सदगतपछि सन्तोषीलाई सम्हालिन गाह्रो भयो ।
सन्तोषीको अवस्था देखेर परिवारले बाँच्ने छाँटकाँट देखेका थिएनन् । श्रीमानको मृत्युको खबर सुनेदेखि होसमा भन्दा धेरै बेहोसीमै बिताएकाले सन्तोषीलाई भने धेरै कुरा याद छैनन् ।
बेलाबेलामा होसमा आउँदा परिवारका सदस्यले कुरा गरेको उनी सम्झन्छिन् । ‘ससुराले त मरे सँगै गाडौंला भनेको सुनें । अनि चाहिँ उठ्नुपर्छ जस्तो लाग्यो तर सकिन,’ सन्तोषीका आँशु गालाको डिल हुँदै घाँटीसम्म पुगे ।
उनी त्यो क्षण अझै सम्झिन्छिन्, ‘घर भित्र लडिरहेकीे थिएँ । तेरो सिन्दुर पोते त गयो छोरी, खै दे त भने, त्यसपछि बेहोस भएछु,’ सिन्दुर पुछिँदाको त्यो पल सन्तोषीलाई चटक्कै बिर्सन पाए हुन्थ्यो जस्तो लाग्छ अहिले पनि ।
श्रीमान् बितेपछि उनकोे जीवनमा न टेक्ने लौरी बाँकी रह्यो न समाउने हाँगो । घर बनाउँदाकोे ऋण र दुई सन्तानको जिम्मेवारी उनकै काँधमा आयो । उनको घरमा बिहानदेखि बेलुकासम्म साहु पालैपालो आउँथे ।
सबैकुरा एकैपटक आइलागेपछि उनले बाँच्ने र गरिखाने आँट जुटाउन सकिनन् । उनलाई आँखा बिना संसार हेर्न सकिन्न जस्तो लाग्यो । मुटु बिना सास रोकिन्छ जस्तो लाग्थ्यो । त्यसैले मन भुलाउन सन्तोषीले रक्सीको साहारा लिन थालिन् ।
‘छोराछोरीलाई दाजुभाइ र आमालाई ५ वर्ष पालिदिनु भनेकी थिएँ । मलाई त बाँच्छु भन्ने नै लाग्दैनथ्यो । रक्सीको ग्यालेन लिएर म खोलाको छेउमा रुँदै दिन बिताउँथे,’ सन्तोषी छोरी सविताको कपाल सुमसुम्याउँछिन् । अनि बोलिन्, ‘मैले त सबैलाई मेरो भर नपर्नु भनेकी थिएँ ।’
सन्तोषीले मात्र हैन बाबुको मृत्यु र आमाको बेदनाले छोराछोरीको अवस्था बिग्रदै गयो । छोरी सविताले बुवाको सदगत गरेको केही समयपछि आत्महत्या गर्न खोजिन् । छोरा सौरभ स्कुल जान छाडे ।
‘बुवाले कस्तो माया गर्नुहुन्थ्यो अनि म पनि सँगै जाने भनेर नि,’ सविता आत्महत्या गर्न खोज्नुको कारण बताउँदै भन्छिन् ‘बुवा नहुँदा मैले मामुलाई नै बुवा अनि मामु भन्छु भनेको ।’
सन्तोषी भन्छिन्, ‘म त रुन्थे, रक्सी मात्र खान्थें । लाग्थ्यो अहिले मरौं । पीडा हुँदा त संसार नै छैन जस्तो लाग्दो रैछ ।’ उनको तीन महिने बैधव्य श्रीमानसित बिताएका क्षण सम्झेर बिते ।
अहिले तिनै श्रीमानको साथमा बसेर यी कुरा सुनाउँदा उनलाई नमिठो सपना जस्तो लाग्छ । उनी कसैले नभोगेको मैले भोग्नुपर्ने भनेर भाग्यलाई धिकार्छिन् ।
सन्तोषी दिनरात यसरी नै कटाइरहेकी थिइन् । तर तीन महिना पछि फेरि पत्याउनै नसकिने अर्को खबर आयो । यो पालि पनि पहिले जस्तै उनको फोनको घण्टिले अनौठो खबर ल्यायो । ‘माइजु मामा त जिउँदै छन अरे,’ उनलाई भान्जी बुहारी रितु तामाङले यो अपत्यारिलो खबर सुनाइन् ।
श्रीमान् गुमाउँदाको पीडालाई भान्जी बुहारीको यो खबरले उनलाई जिस्क्याए जस्तो लाग्यो । श्रीमान् नभएर सबैले हेपेजस्तो जस्तो लाग्यो ।
तर किरिया गरिसकेको श्रीमान् जीवित छ भनेको सुन्दा कानमा तेल हालेर को नेपाली महिला बस्न सक्ला र ? सन्तोषीले पनि खबर के रहेछ भनेर बुझ्न साउदीमा पहिले श्रीमानसँगै काम गर्ने भान्जालाई फोन गरिन् ।
‘मामा त टाइसुट लगाएर आएको सपनामा देखेथें माइजु । मरेको मान्छे कसरी बाँच्नु,’ फोनमा भन्जाले दिएको जवाफले उनलाई झनै निराश बनायो ।
साउदीको अस्पतालमा उपचार गराइरहेका मामालाई भेटिसकेका सन्तोषीका भान्जा अर्जुन तामाङले मामा जीवितै छन् भन्ने कुरा झ्वाट्टै सुनाउन सकेका थिएनन् । किनकि सुवास ठानेर अर्कैको शव कम्पनीले घरमा पठाइसकेको थियो । उनलाई कम्पनीले मरे भनेका मामालाई फेरि मारिदिने पो हो कि भन्ने डर लाग्यो ।
तर यो खबर यत्तिकैमा सीमित भएन । त्यसको केही दिनमा सुवास जीवित नै छन् भन्ने खबर एक कान दुई कान मैदान भयो । ‘भान्जाले अस्पतालमा गएर मामालाई भेटिसकेका रहेछन, कम्पनीले मार्ने हो कि भनेर मलाई ढाँटेका रैछन,’ सन्तोषीले पनि श्रीमान् जीवितै छन भन्ने पक्का खबर पाइन् ।
मरेका श्रीमान जीवित छन् भनेर सुन्दा सन्तोषीको खुसीको सीमा थिएन । उनले आफूलाई भाग्यमानी ठानिन् । अर्कातिर मन पीडाले पोल्न थाल्यो । मनमा आउने प्रश्नले सन्तोषीलाई दिनरात घोच्न थाले ।
‘मेरो हातका चुरा कस्का नाममा फुटे ? पोते कस्का लागि चुँडियो ? मेरो सिउँदोको सिन्दुर कस्का लागि पखालियो ? मेरो बुढो जिउँदो हुँदाहुँदै कसको घेवा (सदगतसँगै अन्तिम संकार) गरें जस्तो लाग्यो । रातभर निन्द्रा लागेन,’ सन्तोषीका अनुहारका रंग फेरियो । अघिदेखि सुँक्सुकाइरहेकी सन्तोषीको रुवाइको आवाज ठूलो भयो ।
आफ्नै श्रीमानको पासपोर्ट, साउदी सरकारले जारी गरेको मृत्युको प्रमाणपत्र सहित आएको शव जलाएकी सन्तोषीलाई त्यतिबेला कुनै फिल्म हेरिरहेको छु कि झैं लाग्यो ।
उनलाई श्रीमान् जीवित हुँदाहुँदै कसका लागि सिन्दुर पखालें, पोते चुडाएँ, चुरा फुटाएँ भन्ने प्रश्नले मनमा खुल्दुली मच्चायो । श्रीमान् जीवितै भेटिनुको वास्तविक कारण उनले पछि मात्र थाहा पाइन् ।
बैंकमा पैसा हाल्न जाँदा सुवाससहित हुण्डाई कम्पनीका चार जना नेपाली कामदार गएका थिए । बैंकमा काम नहुने देखेपछि फर्किएका उनीहरु बाटोमै दुर्घट्नामा परे । उनीहरु चढेको ट्याक्सी चलाउने बाग्लुङ घर भएका तेजेन्द्र भण्डारी थिए ।
पाँच जना दुर्घट्नामा परेकामध्ये चार जनाको भोलिपल्टै मृत्यु भएको अस्पतालले घोषणा गर्यो । मृत्यु हुनेमा सुवास पनि थिए । त्यसैले कम्पनीले सुवासको शव पनि नेपाल पठाएको थियो । ट्याक्सीचालक तेजेन्द्रको भने उपचार भइरहेको थियो ।
कोमामा रहेका ट्याक्सी चालक तेजेन्द्रको तीन महिनापछि अस्पतालले अनुहारको पट्टी खोल्यो । उनी होसमा आए । होसमा आएका मानिसलाई आफ्नो बारेमा केही थाहा थिएन । उनले आफ्नो बारेमा जम्माजम्मी बताएका दुई शब्दले बाँचेका ब्यक्ति तेजेन्द्र हैनन् भनेर छुट्याउन गाह्रो भएन ।
तेजेन्द्र भनेर उपचार गराइएका मानिस तेजेन्द्र होइनन्, हुण्डाईका कामदार हुन भन्ने कुरा बिरामी कुरेर बसेका तेजेन्द्रका साथीले थाहा पाए ।
त्यति भएपछि तेजेन्द्रका साथीले उनी हुण्डाई कम्पनीकै भएको ठहर गरेर कम्पनीलाई खबर गरे । कम्पनीले उनको बारेमा बुझ्दा होसमा आएका उनी तेजेन्द्र नभई सदगत गरिसकेका सुवास तामाङ भएको पत्तो लाग्यो ।
यसरी सदगत गरिसकेका मानिस जीवितै पाउँदा सन्तोषीलाई ठूलै चमत्कार भए झैं लाग्यो । तर उनका पतिले दुर्घटनापछि जन्मघर भोजपुर र श्रीमतीको नाम सन्तोषी बाहेक पहिलेको कुरा सबै बिर्सिएका थिए ।
होसमा आएको ब्यक्तिले घर र श्रीमतीको नाम बताएपछि सुवासका नाममा तेजेन्द्र मरेको र मरेका तेजेन्द्रको नाममा सुवास बाँचेको पत्तो लाग्यो ।
तीन महिनाअघि खरानी भएका श्रीमान् फेरि होसमा आएपछि सन्तोषीलाई कहिले देखुँ, कहिले बोलौं भएको थियो । होसमा आएको केहीदिनमै सन्तोषीले फोनमा श्रीमानसित कुरा गरिन् । तर श्रीमानले सोधेका प्रश्नले भने सन्तोषीलाई श्रीमान् जीवित छन भन्ने खुसी त दियो, तर सँगै अत्यायो पनि ।
‘तिमी मेरो श्रीमती सन्तोषी हैन त ? मैले तिमीलाई बिहे गरेको है,’ कोमाबाट तीन महिना पछि होसमा आएका श्रीमानले फोनमा सोधेको प्रश्नले सन्तोषी अक्क न बक्क भइन ।
‘हो नि । हाम्रा दुई जना छोराछोरी पनि छन,’ सन्तोषीले आफू श्रीमती भएको विश्वास दिलाउन श्रीमानले नसोधेको प्रश्नको पनि उत्तर दिइन् ।
‘ए तिमी एक्लैले पाएको कि मै हुँदा पाएको’ श्रीमानका एकपछि अर्को सुन्दा रमाइलो लाग्ने तर छक्क पार्ने प्रश्नले सन्तोषीलाई पनि छक्क बनायो । श्रीमानको यस्ता प्रश्नमा के उत्तर दिने सन्तोषी अलमलमा परिन् ।
दुर्घट्ना पछि भर्खरै बच्चा जस्तै भएका श्रीमानलाई उनले पुराना कुरा सम्झाउँदै गइन् । फोनमा भिडियोमा नियमित कुरा गर्न थालिन् । सुवास बिस्तारै निको हुँदै आए । दुर्घट्नाको २ वर्ष पछि २०७४ जेठ १२ गते सुवास घर फर्किए ।
श्रीमान् घर फर्किएपछि उनको जीवन कायापलट भयो । श्रीमान् जीवित भए पनि सन्तोषी साउदीबाट सुवास नफर्किउन्जेल बिधुवा भएरै बसेकी थिइन् । सदगत गरिसकेका मानिसको फेरि जन्म नगराउन्जेल उनले भेट्न मिल्दैन थियो ।
३६ वर्षका श्रीमानको न्वारान भएपछि उनले जेठ १७ गते श्रीमानलाई भेटिन् । ‘त्यो बेला भेट्दा उहाँले कतिबेला आएको भन्नु भो, म त हाँस्न पनि सकिन रुन पनि सकिन, हेरिरहेँ,’ सन्तोषीले मरेका श्रीमानलाई फेरि भेट्दाको अनुभव सुनाइन् ।
जेठको १८ गते सन्तोषीको सिउँदो फेरि भरियो । जसका नाममा उनले सिन्दुर पखालिन्, पोते चुँडाइन, चुरा फुटाइन उनैले फेरि सन्तोषीको सिउँदो रङ्गाए । ‘गुमाएका बुढाबाट फेरि सिन्दुर पोते लगाउन पाएँ । सिउँदोमा सिन्दुर पर्दा मन त खुसीले उडेको थियो,’ सन्तोषी मुस्कुराइन् ।
१२ वर्ष अघि भागेर बिहे गरेका सन्तोषी र सुवासको यो पालि भने परिवार र आफन्तको उपस्थितिमा बिहे भयो । मरेका श्रीमान् फेरि पाउँदाको खुसी सन्तोषी शब्दमा व्यक्त गर्न सक्दिनन् । दुर्घटनामा परेका उनका श्रीमान् पहिलेकै जस्ता त छैनन्, तर उनको साथ र सहयोग छ ।
मरेर पनि बाँचेर फर्किएका उनका श्रीमान् अहिले सिटीसफारी (बिजुली रिक्सा) चलाउँछन् । तर बेलाबेलामा उपद्रो गरिरहन्छन् । सुवासले जानेर उपद्रो गरेका हैनन् ।
दुर्घट्नापछि बिग्रिएको उनको मानसिक अवस्था अझै निको भैसकेको छैन । ‘अहिले सम्झायो अहिले बिर्सनुहुन्छ, हाँस्न थालेपछि दिनभरी पनि हाँसिरहनुहुन्छ, धेरै रिसाउनुहुन्छ,’ सन्तोषीलाई श्रीमानकाे यो अवस्था देख्दा साह्रै मन पोल्छ ।
सुवास घरमा बस्न मान्दैनन् । सिटिसफारी लिएर घरबाट निस्केका श्रीमान् बेलुका घर नर्फकिने हुन कि भन्ने चिन्ताले सन्तोषीको मन सधै चिन्तित हुन्छ । ‘घरमा बस्छु तर मन उसैसँग हुन्छ । न के हुने हो, कसलाई हान्दिने हो कि भन्ने लाग्छ,’ सन्तोषी मलिन स्वरमा बोलिन् ।
श्रीमान् बाँचेर फर्किदा सन्तोषीको एउटा खुसी त फर्किएको छ । तर बच्चा झैं बनेर पति फर्किए पछि उनले धेरै इच्छा मारेकी छन् । श्रीमान् जिउँदै हुँदा पनि तीन महिना विधुवा हुँदाको पीडा भोगिन् ।
अन्जान मान्छेको काजकिरिया गरिन् । तर पनि उनले मरिसकेका श्रीमान फेरि पाइन् । तर श्रीमान् साथमै भए पनि मृत्युदर्ता हातमै छ । कानूनी रुपमा उनका पति बाँचेका छैनन् । त्यसैले, दराजमा राखेको श्रीमानको मृत्युदर्ताको प्रमाणपत्र निकाल्दै सन्तोषी सोध्छिन् “मेरो श्रीमानलाई कसरी जीवित बनाउने होला ?”
(पुनः प्रकाशित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।
Binod
June 20, 2022, 7:14 p.m.सुवासजीकी पत्निका बारेमा नि थाेरै भए नि खाेजी गरिदिनुस् न।