सन् २०१८ मा गायन क्षेत्रमा चम्किएकाहरु

 पुस १६, २०७५ सोमबार १७:३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अंग्रेजी वर्ष २०१८ आजबाट सकिएर भोलिबाट २०१९ सुरु हुँदै छ । यो वर्षमा नेपालको गायन क्षेत्रले केही नवप्रतिभाहरु जन्माएको छ ।

सन् २०१८ मा सबैको प्यारो बनेको नाम हो अशोक दर्जी । झापामा घर भएका उनी सडकमा गीत गाएर माग्दै हिँड्ने गर्थे । दया लाग्नेले केही रुपैयाँ दिन्थे भने कसैले त्यतिकै खाली हात फर्काइदिन्थे । तर अन्ततः गायक तथा संगीतकार टंक बुढाथोकीले उनलाई सडकबाटै उठाए र काठमाडौं लिएर आए  । जब टंकले अशोकलाई साथमा लिएर मनबिनाको धन ठूलोको बोलको गीत सार्वजनिक गरे । देश विदेशमा रहेका हरेक नेपालीको मन मस्तिष्कमा त्यो गीत बस्न सफल भयो । 

टंकले सबै नेपालीसँग सहयोगको अपिल गरे र अशोक दर्जीको घरसमेत बनाइदिए । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य, चलचित्र निर्देशक सोभित बस्नेत, पत्रकार ऋषि धमलालगायतको उपस्थितिमा घर हस्तान्तरण गरियो । यसरी सबैको नजरमा प्यारो बनेका अशोक दर्जीलाई टंकले काठमाडौं नै ल्याएर स्कुल भर्ना गरिदिए । हाल पनि टंकले अशोकलाई आफ्नै साथमा राख्दै आएका छन् । सन २०१८ को अन्तिम समयमा उनीहरुले पनि अर्को गीत सार्वजनिक गरे । ‘चाैँरीको चाम्रो छुर्पी’ बोलको गीतलाई पनि दर्शकले  धेरै मन पराएका छन् ।  त्यो गीत करिब एक हप्तासम्म ट्रेण्डिङ एकमा बन्न सफल भएको थियो । 

यस्तै २०१८ मा २ वटा रियालिटी शोहरु सम्पन्न भए । ती शोहरु हुन् एपीवान टेलिभिजनले आयोजना गरेका नेपाल आइडलको दोस्रो सिरिज र लक्ष्मण पौडेलको टिमले आयोजना गरेका द भ्वाइस अफ् नेपाल । 

नेपाल आइडल अन्तर्गत सुदूरपश्चिमका रवि ओड  नेपाल आइडल बन्न सफल भए । गरिब परिवारमा जन्मिएका ओड विदेश जाने चक्करमा थिए । तर एक पटक नेपाल आइडलमा सहभागी हुने र नेपाल आइडल बन्ने आश बोकेर उनी काठमाडौं आए । अन्ततः उनलाई नै दर्शकले दोस्रो नेपाल आइडलका रुपमा पाए । नेपाल आइडल बनेकी खुशी साट्न नपाउँदै त्यसको केहर दिनमा नै नेपाल आइडल बन्न सफल ओडकी आमाको निधन भयो । घरमै काम गर्ने समयमा करेन्ट लागेर उनको निधन भएको थियो । 

त्यस्तै अर्को रियालिटी शो द भ्वाइस अफ् नेपालको विजेता बन्न सफल भए पोखराका सीडी विजय अधिकारी । यस्तै द भ्वाइस अफ् नेपालको फाइनमा पुग्ने अन्य ३ प्रतिस्पर्धीहरु सप्तकदुतराज, श्रीजय थपलिया र कुशल आचार्य पनि यो वर्ष निकै चर्चामा रहेका थिए । कार्यक्रमको फाइनल कतारमा गरिएको थियो । 

त्यस्तै नेपाल आइडलमा सहभागी पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी पनि यो वर्ष निकै चर्चामा रहे । उनीहरु क्रमशः दोस्रो, तेस्रो र चौथो बन्न सफल भएका थिए । 


 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया