रुकुम पूर्वमा तामाखानी ! सुनको सिरानी, नुनको खोजी !

 पुस २४, २०७५ मंगलबार १२:५६:८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – प्राकृतिक सम्पदा, स्थानीय श्रोत, बहुमल्य खानी तथा खनिज नेपालका अमूल्य सम्पदा हुन् । तर, स्थानीय स्तरमा रहेका विभिन्न खानी र सम्पतिको पहिचान गरी उपयोग गर्न नसक्दा सुनको सिरानी हालेर नुन खोज्ने अवस्था रहेको छ । 

४ दशकअघि गाउँकै तामाखानीबाट निकालिएका भाँडावर्तन रुकुम पूर्वस्थित भुमे गाउँपालिकाका अधिकांश स्थानीयको घरमा छन् । तिनै तामाखानी वर्षौँसम्म पनि उत्खनन नगरिदिँदा लोप हुने अवस्थामा छन् । सरकारी उदासीनताको कारण लामो समयसम्म तामा निकालिएका खानी हाल भग्नावशेषको रुपमा मात्रै छन् ।

पतेराखोला तामाखानी, खादीखोला तामाखानी, कोप्चे तामाखानी, रातापट्टी तामाखानी, ठूलपैरा तामाखानी, ढ्वाले तामाखानी र ड्वाङड्वाङे खानी लोप हुने स्थितिमा पुगेका छन् । विगतमा तामा निकालिएका खानीहरु त्यसपछि क्रमशः पुरिँदै गएका छन् । यसको साथै गोठिवाङ, टिमुरवाङ, डाङलीका, तुनवाङ, खासीवाङ, चौरीवाङ धजाहाल्ने, डिमुरगैरामा पनि केही दशक अघिसम्म तामा निकालिएको भुमे गाउँपालिका–३, झुम्लावाङका स्थानीयबासीहरु बताउँछन् ।

खानीबाट तामा निकालेर भाडाँकुडा बनाइरहेको भए पनि पछिल्लो समयमा खानी उत्खनन र प्रयोग गर्ने काम भएको छैन । त्यस गाउँमा पहिले तामा निकालेको ठाउँठाउँमा खाल्डाहरु रहेका छन् । झुम्लावाङमा तामाखानी रहेको र त्यो खानीबाट आफ्नो बुवाहरुले समेत तामा निकालेर भाडाँकुडा बनाएको स्थानीय भत्तिराम कामी बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘झुम्लावाङमा त मेरो बुवाले नै खानीबाट तामा निकालेर भाडाकुँडा बनाएको मलाई पनि थाहा छ ।’ 

त्यस क्षेत्रमा सुरुमा बस्ती नभए पनि खानी पत्ता लागेपछि देशका अन्य ठाउँहरुबाट समेत त्यहाँ गएर बस्ती नै बसेको स्थानीयहरुको भनाई छ । तिनै ठाउँबाट तामा निकालेर बनाइएका भाँडावर्तन हरेक झुम्लावाङबासीको घरमा पाइन्छन् । नजिकैको खानीमा तामा निकालेर बनाइएको हुन्ना, खर्काउँलादेखि स–साना भाँडाकुँडा झुम्लावाङका प्रायजसो सबै घरमा छन् । 

तामाको पैसा पनि बनाइन्थ्यो

समाजसेवी रामबहादुर बुढामगरले २०१८ सालसम्म झुम्लावाङमा तामा निकालिएको बताउनुभयो । उहाँका अनुसार झुम्लावाङमा तामाका पैसासमेत बनाइएको थियो । पुर्खाहरुलाई उद्धृत गर्दै बुढाले भन्नुभयो, ‘यहाँको तामाबाट सरकारले पैसा समेत काटेको थियो ।’ आफूले थाहा पाउँदासम्म पनि तामा निकाल्ने गरिएको उहाँले बताउनुभयो । तामाखानीबाट धाउ निकालेर त्यसलाई पगाली तामा बनाइने गरेको बुढाले बताउनुभयो ।

८ धार्नी ढाउबाट एक धार्नी तामा तयार गरेको आफैले थाहा पाएको उहाँले जनाउनुभयो । झुम्लावाङको वनभर तामा रहेको दाबी उहाँको छ । प्रशस्त तामाखानी भएका कारणले मात्रै झुम्लावाङमा मानव बस्ती बसेको बताइएको छ । तामाखानी पाइएपछि सरकारले पैसा काट्न थाल्यो, त्यसैमा काम गर्न देशका विभिन्न ठाउँबाट आएकाहरुले त्यतै बस्न थालेका थिए । 

भएको सम्पदाको प्रयोग नहुँदा स्थानीय भने दुःखी छन् । प्रशस्त तामा पाइने खानी भए पनि त्यसको उत्खननका लागि कतैबाट पहल तथा प्रयास नहुनु दुःखद भएको स्थानीयले बताएका छन् । स्थानीय कमला बुढाले भूमेमा तामाखानीको राम्रो सम्भावना रहे पनि सरकारले उत्खनन्मा चासो नदिएको गुनासो गर्नुभयो ।

‘हाम्रो गाउँठाउँमा तामा खानीको राम्रो सम्भावना र अवसर भए पनि सरकारले उत्खनन गरेर प्रयोग गर्नमा किन ध्यान दिइरहेको छैन हामी नै अचम्ममा छौँ’, बुढाले भन्नुभयो, ‘धेरै पहिले नै हाम्रो पुर्खाहरुले समेत तामा निकालेर प्रयोगमा ल्याएको देखिन्छ, आजभोलि त झन विज्ञान प्रविधिको युग अझ सजिलोसँग उत्खनन् गर्न सकिन्थ्यो होला ।’

खानी रहेका क्षेत्रमा उत्खनन गर्दा समग्र देशसँगै स्थानीय नागरिकलाई समेत रोजगारको अवस्था सिर्जना भएर आयआर्जनमा समेत सहयोग पुग्ने उहाँको भनाई छ । स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा गाउँघरमा रहेका खानीहरुलाई उत्खनन गरी रोजगारी सगै हाल विदेशबाट निर्यात भैरहेको विभिन्न बस्तुहरुलाई रोक्न सकिन्छ  भन्ने विश्वास उहाँको छ । 

स्थानीय सरकारलाई संरक्षण गर्ने मात्र अधिकार 

भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले गाउँमा रहेको तामाखानीबारे आफूलाई पनि जानकारी रहेको भए पनि कानुनी जटिलताका कारण उत्खनन् गर्न नसकिएको बताउनुभयो । अध्यक्ष बुढाले स्थानीय सरकारलाई खानीको उत्खनन् गर्ने अधिकार स्थानीय सरकारलाई नभएको बताउनुभयो ।

‘हामीलाई खानीहरुको संरक्षण गर्ने अधिकार छ, उत्खनन र प्रशोधनको को अधिकार छैन’, अध्यक्ष बुढाले भन्नुभयो, ‘हामीले उत्खननका लागि संघीय सरकारलाई आग्रह गरिसकेका छौँ ।’ उहाँका अनुसार गाउँपालिकाको  ३ नम्बर वडाको झुम्लावाङका साथै ४ नम्बरको काँडा र ५ नम्बरको स्यावाङ्गका विभिन्न ठाउँमा तामाखानी रहेका छन् । २ नम्बर वडाको काँक्री र ६ नम्बर वडाको महतमा फलाम खानीसमेत रहेको जानकारी अध्यक्ष बुढाले दिनुभयो ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया